Logo

संविधान संशोधन नभएसम्म हामी कालो दिवस मनाईरहन्छौं : कर्ण



काठमाडौं, २ असोज । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘हामीले यसअघिपनि दुई पटक कालो दिवस मनाईसकेका छौं । भोलि पनि हामी कालो दिवस नै मनाउँछौं । देशैभरि विभिन्न जिल्लामा हामी प्रर्दशन गर्छौं र बेलुका केही समय ‘ब्ल्याक–आउट’ गर्ने कार्यक्रम छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भोलि संविधान दिवसलाई कालो दिवस मनाउनको लागि आफ्नो पार्टीका सबै नेताहरु जिल्ला–जिल्ला प्रस्थान गरिसकेको पनि जानकारी दिए । उनले भने,‘केही नेताहरु बाँकी हुनुहुन्छ, उहाँहरुपनि आज बेलुकासम्म पुग्नुहुन्छ ।’

संविधान जारी हुँदासम्म सयौं जनताले सहादत प्राप्त गरेको र अहिलेपनि सयौंको संख्यामा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु घाईते, अपांग भएर अस्पतालमा बस्न बाध्य भएको बताउँदै उनले भने,‘अहिलेपनि सयौं जनामाथि सरकारले झुठो मुद्दा चलाएको छ । त्यसकारण हामीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएका हौं ।’ यद्धपी उनले आफूहरु सुरुदेखि नै संविधान संशोधनको माग गरेको भएपनि संविधान पूनर्लेखन नै गर्न भनेर माग नगरेको स्पष्ट पारे । उनले थपे,‘हामीले संविधान पूनर्लेखन गर्नुपर्छ भनेर कहिल्यैपनि भनेनौं ।’

नेता कर्णले सरकारले अहिलेसम्मपनि संविधान संशोधनको लागि कुनै होमवर्क नै नगरेको गुनासो पोखे । उनले भने,‘तपाईहरु हेर्दै जानुहोस्, भोलि हजारौं जनता जुलुसमा उत्रिन्छन् । संविधानलाई लिएर लाखौं व्यक्तिहरु असन्तुष्ट छन् । जहिलेसम्म हाम्रो माग पूरा हुँदैन् । वा संविधान संशोधन हुँदैन, तबसम्म हामी कालो दिवस मनाईरहन्छौं ।’ उनले संविधान आवश्यकत्ता र औचित्यको आधारमामात्रै संशोधन हुन्छ भनेर भनिएकोप्रति गुनासो पोख्दै उनले भने,‘अब आवश्यकत्ता कसले महशुस गर्ने हो ? अनि औचित्यको आधारमा भनिएको छ।’

उनले आफूहरुले संविधान अनुसार नै चुनाव लडेको बताउँदै निर्वाचनलाईपनि आन्दोलनको रुपमा उपयोग गरेको जिकिर गरे । उनले भने,‘कालो दिवसमात्रै होईन, संविधान संशोधनको लागि आवश्यकत्ता अनुसार आन्दोलनका कार्यक्रमपनि घोषणा गरेर अघि बढ्न सक्छौं ।’

फरक प्रसँगमा उनले आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे दशैं तिहारपछिमात्रै ठोस निर्णय लिने जनाए । उनले भने,‘दशैं, तिहार मनाएपछि हामी सरकारबाट समर्थन फिर्ता लिनेबारे निर्णय लिन्छौं ।’



प्रतिक्रिया दिनुहोस्