असोज ४, काठमाण्डौ । यातायात व्यवसायीहरुले सरकारलाई इन्धनको बढाएको मूल्य फिर्ता लिन चेतावनी दिएका छन् । सोमबार गरेको इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएको हो ।
मंगलबार विज्ञप्ति जारी गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए दशैंको अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने चेतावनी दिएको हो ।
महासंघका महासचिव सरोज सिटौलाले चाडपर्व र संकटका बेलामा यातायात व्यवसायीले जनतालाई महत्वपूर्ण सहयोग गर्दै आएको भए पनि सरकारले वेवास्ता गर्ने गरेको बताए ।
महाभूकम्प र नाकाबन्दीको बेला गरेको सहयोग स्मरण गर्दै सिटौलाले त्यसबेलाको भूमिका विर्सेर सरकारले आफूहरुका मागप्रति वेवास्ता गरेको आरोप लगाए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले चाडपर्वका बेला इन्धनको मूल्य बढाउने तर भाडा बढाउन माग गर्दा वेवास्ता गरेको गुनासो गरे ।
आफूहरुले लिखित र मौखिक रुपमा रुपमा सरकार समक्ष माग प्रस्तुत गरे पनि सुनुवाई नभएको सिटौलाले बताए ।
“प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाईसमेत भेटेर ज्ञापनपत्र दियौँ । मन्त्री र विभागमा दिएका छौँ ।” सिटौलाले भने ।
प्रधानमन्त्री र विभागिय मन्त्रीहरुलाई सल्लाह दिने सल्लाहाकार नै गलत भएकाले विभिन्न समस्या आएको सिटौलाको दावी छ । कर्मचारीतन्त्र पनि
सिटौलाले सरकारलाई पञ्चायती शाषनभन्दा बढि दमनकारीको आरोप लगाएका छन् । गत वैशाख २१ गते रिपोर्टस क्लबमा बोल्न आउने क्रममा आफू पक्राउ परेको घटना स्मरण गर्दै सिटौलाले यातायात व्यवसायीलाई सरकारले अन्याय गरेको बताए ।
सरकारले व्यवसायीलाई घरेलु हिंसा गरेर निरिह बनाएको आरोप लगाए । सरकारकै कारण जनताले यातायात व्यवसायीलाई हेर्ने दृश्टीकोणसमेत नकारात्मक हुँदै गएको उनको तर्क छ ।