असोज ७, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति सत्तारुढ दल नेकपाकै नेताहरु रुष्ट बन्दै गएका छन् ।
बोल्ने धेरै तर काम गर्न नसक्ने आरोप खेपिरहेका प्रधानमन्त्री ओलीलाई ूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले धेरै सुन्न र थोरै बोल्न
सुझाव दिएका छन् ।
कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए ।
‘अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो’, नेता नेपालले प्रधानमन्त्रीलाई सुझाव दिँदै भने, ‘त्यसैले धेरै सुन्नू, थोरै बोल्नू ।’
सरकार सञ्चालनबारे पार्टीमा छलफल नगरिएकोप्रति पनि नेता नेपालले असन्तुष्टि जनाएका छन् । सरकार सञ्चालनबारे अनुभव भएका नेता भए पनि त्यो अनुभव ग्रहण गर्न प्रधानमन्त्री ओलीले ध्यान नदिएको नेता नेपालको भनाइ छ ।
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका नेता नेपालले सरकारको भने बचाउ गरे । सरकारको काम–कारबाहीलाई लिएर आलोचना भइरहेका बेला नेता नेपालले सरकारको समीक्षा गर्ने बेला भइनसकेको बताए ।