Logo

गैरकानुनी कामदारविरुद्ध मलेसियाले चालेको कदमले नेपाली पनि प्रभावित



असोज ७, काठमाण्डौ । गैरकानुनी आप्रवासी कामदारहरुविरुद्ध मलेसियाले थप कडाइ गरेको छ । उनीहरुलाई कानुनी प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको पुनभर्ना एवं दर्ता कार्यक्रमको समयावधि गत जुन ३० मा सकिएलगत्तै मलेसियाले संचालन गरेको ओपिएस थ्रि नामक कारबाही अभियान जारी गरेको छ । जुन कारवाहीमा केही नेपाली समेत परेका छन् ।

मलेसियाली अध्यागमन कानुनअनुसार कामदारले भिसामा उल्लेख भए अनुसारकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्दछ । त्यसबाहेकका कम्पनीमा काम गर्नु कानुनी प्रावधान विपरित मानिन्छ । तर आउटसोर्सिङ गरिएका कामदारका हकमा पनि सप्लाई गर्ने कम्पनी र रोजगारदाता कम्पनीबीचको सम्झौतापत्र, सम्बन्धित कम्पनीको आधिकारिक पत्र लगायत कागजातहरु कामदार र सम्बन्धित रोजगारदातासँग हुनुपर्दछ ।

पछिल्ला केही सातायता यस्ता कारबाही अभियानहरु दैनिक संचालन गरिएका छन । मलेसियाली अध्यागमन विभागका अनुसार गत शुक्रबार बेलुका क्वालालम्पुर नजिकै रहेको साइबरजया स्थित हजारौं कामदार कार्यरत एक म्यानुफ्याक्चरिङ कम्पनीमा गरिएको धरपकडमा ४७ नेपालीसहित ३ सय ३८ जना आप्रवासी कामदार पक्राउ परेका छन् । उनीहरुमध्ये अधिकांश भिन्नै कम्पनीको भिसामा त्यहाँ कार्यरत रहेको तथा अध्यागमन नियम उल्लंघन गरेको बताइएको छ ।

अध्यागमन विभागकाअनुसार गत जनवरीदेखि गत अगष्टसम्म ३० हजारभन्दा बढी गैरकानुनी आप्रवासी कामदार र एकहजार बढी रोजगारदाताहरु पक्राउ परिसकेका छन् । पक्राउ पर्ने मध्ये अधिकांश इण्डोनेसिया, बंगलादेश लगायत मुलुकका छन् ।

तर उनीहरुको तुलनामा नेपालीहरु कम संख्यामा छन् । यसअघि सन् २०११ अक्टोबरदेखि नै आममाफी, बैधानिकता, घरफिर्ती, लगायत विभिन्न शीर्षकमा यस्ता अवसरयुक्त कार्यक्रमहरु संचालन गर्दै आएको थियो । पक्राउ पर्ने कामदारलाई अदालती निर्णयअनुसार सजाय भुक्तान गरेपछि घरफिर्ती केन्द्रमा राख्ने गरिन्छ । नेपाली दुतावासको गत अगष्ट ९ सम्मको तथ्यांकअनुसार १ सय ६९ जना नेपालीहरु फिर्ती केन्द्रमा र २ सय ४ जना विभिन्न जेलमा छन्। पछिल्लो समय दैनिक धरपकडबाट कतिपय नेपालीहरु पनि पक्राउ परेकाले अब फिर्ती केन्द्रमा नेपालीको संख्या बढ्नसक्ने अनुमान छ ।

पक्राउ परेका कामदारलाई सम्बन्धित विदेशी कुटनीतिक नियोगहरुसित सहकार्य गरेर अबिलम्ब उनीहरुका देश फिर्ता पठाउने भनिएपनि पक्राउ पर्ने कतिपय नेपाली महिनौंसम्म हवाइटिकट अभावमा फिर्ती केन्द्रमै बस्नु पर्ने बाध्यता पनि छ । यद्यपि, अधिकांशको भने दूतावासले सरकारी खर्चबाटै उद्दार गर्दै आएको छ। मलेसिया नेपालीका लागि बैदेशिक रोजगारीको प्रमुख गन्तव्य हो ।

मलेसियालाई श्रमिक दिने स्रोत मुलुकमध्ये नेपाल इण्डोनेसियापछि दोस्रोमा पर्दछ । करिब ५ लाखभन्दा बढी नेपाली विभिन्न रोजगारी क्षेत्रमा कार्यरत छन् । कुनै ठोस तथ्यांक नभएपनि अझैं हजारौंको संख्यामा नेपालीहरु अवैधानिक रहेका हुनसक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्