Logo

अर्थतन्त्र सुधार्नु अहिलेको प्रमुख आवश्यकता : मुख्यमन्त्री पोखरेल



तुलसीपुर, २८ असोज / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले देशको अर्थतन्त्र सुधार्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी दाङको भरतपुरमा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अर्थतन्त्र बलियो भए मात्रै विकास र समृद्धिको सपना पूरा हुने बताउनुभयो ।

‘‘अर्थतन्त्रलाई सबल बनाउन सके मात्रै आवश्यक अनुसारका सेवा, सुविधा र विकास गर्न सकिन्छ,’’ उहाँले भन्नुभयो । उहाँले दुई तिहाइको सरकारप्रति नागरिकको आकांक्षा बढ्नु स्वभाविक हो ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री पोखरेलले तुलसीपुरको विमानस्थल पनि चलिरहने र दाङमा अन्तर्राष्ट्रियस्तरको वैकल्पिक विमानस्थल पनि बन्ने बताउनुभयो । साथै उहाँले कम्युनिष्टलाई काम गर्न नदिने योजनाका साथ प्रतिक्रियावादीहरु सल्बलाउन खोजेको बताउनुभयो ।

जुनसुकै काममा अवरोध सिर्जना गर्ने र अनावश्यक विरोध गरेर जनतामा निराशा फैलाएर देशलाई अस्थिरतामा राख्न खोजेको उहाँको भनाइ थियो ।  (रासस) 



प्रतिक्रिया दिनुहोस्