Logo

‘पाँच वर्षमा सुकुमबासी समस्या अन्त्य हुन्छ’



स्याङ्जा, २८ असोज / भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताउनुभएको छ ।

बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगाँैडा जोड्ने मेङखोलामा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटनका क्रममा उहाँले भूउपयोग नीतिको कुरा अन्तिम चरणमा पुगेको उल्लेख गर्र्दै भूमी ऐन संशोधन गरेर पाँच वर्षभित्रमा सुकुमबासी समस्या समाधान गरेरै छाड्ने बताउनुभयो ।

उहाँले मन्त्रालयले मालपोत र नापी कार्यालयमा थालेको शुद्घिकरण अभियानलाई कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो । कार्यालयमा काममा ढिला सुस्ती गर्ने कर्मचारी र सार्वजनीक जग्गा हड्पने लाई सुचना पाउना साथ तत्काल कार्बाही गरिने उहाँले बताउनुभयो । मन्त्री अर्यालले सरकार सहकारीको क्षमता विकास गदै व्यवस्थीत गर्ने अभियानमा लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य खिमबहादुर विश्वकर्मा, प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, दीपकचर्ती मगर, लगायतले सम्बोधन गर्नुभएको थियो । मेङखोलामा निर्माण गरिएको सो पुल रु दुई करोड ९४ लाख ३२ हजार २१४ रुपैयाको लागतमा सम्पन्न भएको बताइएको छ ।

पुलको निर्माणसँगै स्याङ्जा र तनहूँका जनतालाई आवतजावतमा सहजता भएको छ । आजै मन्त्री अर्यालले कर्मचारी मिलन केन्द्र स्याङ्जाद्वारा प्रकाशित आँधिखोलाको सङ्गम नामक स्मारिकाको विमोचन गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्