Logo

‘समयसापेक्ष संविधान संशोधन गर्न सकिन्छ’



काठमाडौँ, २८ असोज /नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयन भइसकेकाले जनताको आवश्यकता र समयसापेक्ष यो संशोधन गर्न सकिने बताउनुभएको छ ।

‘चन्द्रबहादुर गुरुङ स्मृति प्रतिष्ठान’ ले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको तेस्रो स्मृतिसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधानबमोजिम व्यवस्था गरिएको तीन तहको निर्वाचनमा सबै दल सहभागी भई जनादेशअनुसार सबै तहमा सरकार सञ्चालन भएको हुँदा आवश्यकताअनुसार थपघट हुँदै जाने बताउनुभयो ।

संविधान बनाउने समय स्व गुरुङले पार्टीको वैचारिक दृष्टिकोणलाई प्रक्रियामा लगेर संसद्मा छलफल गराउन भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले जनप्रतिनिधिले विधि र प्रक्रियाबाट निर्माण गरेको संविधान जारी गर्ने क्रममा दलबीच देखिएको असन्तुष्टि अहिले अन्त्य भएको बताउनुभयो ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा राष्ट्रवादी प्रजातान्त्रिक धार निर्माणका लागि गुरुङले महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै राप्रपा परिवेशका दलबीच एकताको खाँचो औँल्याउनुभयो ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले विश्व परिवेशमा नेपाल र नेपालीको गौरव कायम गर्न सबै जाति, समुदायकाबीच एकताको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष कमल थापाले विविध दलको वैचारिक प्रतिस्पर्धाले प्रजातन्त्रलाई बलियो बनाउने बताउँदै राष्ट्रियताका विषयमा सबै पार्टीको साँझा प्रतिबद्धता जरुरी रहेको बताउनुभयो । सोही अवसरमा गुरुङका श्रीमती मिनाले उक्त प्रतिष्ठानलाई रु दुई लाख प्रदान गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्