Logo

प्रचण्ड र बादल डुबेको तातोपानी कुण्डको रहस्य यस्तो छ



कात्तिक २८, काठमाण्डौ । प्रकृति चिकित्सालयको नामले परिचित म्याग्दीको बेनीमा रहेको तातोपानी कुण्ड निकै चर्चित छ । विभिन्न रोगको उपचार हुने विश्वासका कारण हरेक महिना करिब ५ हजारले कुण्डमा नुहाउने गरेका छन् । नेता तथा मन्त्रीहरुसमेत कुण्डमा नुहाउन जाने क्रम बढेको छ ।

म्याग्दीको बेनी नगरपालिका वडा नं १३ मा अवस्थित तातोपानी कुण्डमा नुहाउन जानेहरुको संख्या उल्लेख्य छ । नदी किनारमा जमिन मुनिबाट आउने ५० डिग्री सेल्सीएस प्राकृतिक औषधियुक्त तातोपानीमा नुहाएपछि पुराना र जटिल रोगहरु निको हुने विश्वासमा सो कुण्डमा नुहाउनेहरुको सङ्ख्या बढदै गएको हो । अस्पतालमा औषधोपचार गर्दा रोग निको नभएर हैरान बनेका दीर्घरोगीसमेत तातोपानीमा घण्टौ डुवुल्की मार्दा रोग निको भएको कतिपयको अनुभव छ । यस्तै विश्वासका कारण नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा पनि तातोपानी कुण्ड पुगेर नुहाए । दाहाल र थापा परिवारसहित कुण्ड पुगेका हुन् ।

विशेषगरी दाहाल पत्नी सिता दाहालको देश विदेशमा उपचार गर्दासमेत निको नभएपछि कुण्डमा पुगेको बताइएको छ । तातोपानी खाने र कुण्डमा डुवुल्की मार्दा टाउको दुख्ने, छाला, ग्याष्टिक, वाथ, घाउ–खटिरा, महिलाको आङ् खस्ने लगायतका रोगहरु निकोहुने भएपछि प्राकृतिक चिकित्सा केन्द्र बनेको यो कुण्डमा नुहाउने मानिसहरुको आकर्षण बढेको छ । तर एउटै कुण्डमा धेरै मानिसले नुहाउँदा रोगको संक्रमण बढेने खतरा पनि उत्तिकै रहने चिकित्सक बताउँछन् ।

सो कुण्डमा एक पटकमा ४०० जनासम्मले नुहाउन सक्ने र दैनिक दुईसयदेखि पाँचसय जनासम्म कुण्डमा नुहाउन आउने गर्दछन् । सो कुण्डमा नुहाउनेले रु. एक सय ५० को टिकट लिनुपर्दछ । त्यो टिकट १५ दिनसम्म प्रयोग गर्न सकिने छ । तातोपानीमा उपचारको लागि देशका अधिकाँश जिल्लाका विरामीहरुका साथै भारतको नानपारा, रुपैडिया, बनवासा लगाएत राउण्ड धौलागिरी र अन्नपूर्णको भ्रमणमा आएका विदेशी पर्यटकहरुसमेत उपचारका लागि जाने गरेका छन् ।

२०२७ सालदेखि पोखरी निर्माण गरी नुहाउन सुरुगरिएको तातोपानी कुण्ड २०५४ सालदेखि बैधानिक रुपमा तातोपानी कुण्ड व्यवस्थापन समिति गठन गरी कुण्डको संरक्षण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्