Logo

अन्तरिक्षसम्बन्धी प्रविधिमा फ्रान्सको सहयोग अपेक्षा



काठमाडौँ, ३ मङ्सिर / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य प्राप्तिका निम्ति फ्रान्सको पूँजी, प्रविधि र सीप उपयोग गर्न नेपाल सरकार इच्छुक रहेको बताउनुभएको छ ।

नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिए लेजेले आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा उहाँले आगामी वर्ष नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुने प्रसङ्ग जोड्दै विगतमा झैँ आगामी दिनमा पनि दुई देशबीच सहकार्य जारी रहने बताउनुभयो । नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध अझ मजबुत हुनेछ ।”

मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार नेपालले आफ्नै भूउपग्रह केन्द्र राख्न चाहेको र त्यसका लागि अन्तरिक्षसम्बन्धी प्रविधिमा फ्रान्सले हासिल गरेको प्रगतिबाट लाभान्वित हुन खोजेकामा पनि मन्त्री बाँस्कोटाले जोड दिनुभएको थियो ।

सो अवसरमा राजदूत लेजेले नेपालमा फ्रान्सको लगानी वृद्धि गरी द्विपक्षीय व्यापार अभिवृद्धि गर्दै नेपाल–फ्रान्स सम्बन्धलाई अझ प्रगाढ बनाउन आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दुई देशबीच प्रविधि आदानप्रदान, लगानी, व्यापारलगायत विषयमा फ्रान्सको निजी क्षेत्रलाई समेत संलग्न गराउन आफू प्रयत्नशील रहने बताउँदै उहाँले राहदानीलगायत संवेदनशील सामग्री छपाइ गर्ने सेक्युरिटी प्रेस नेपालमा स्थापना गर्नका लागि नेपाल सरकारलाई सघाउन फ्रान्सका कम्पनीसँग आफूले पहल गर्न चाहेको बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्