इलाम, ६ मङ्सिर / नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिलाई काम गर्न कसैले नरोकेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन इलामले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सभापति शेरवहादुर देउवाले पार्टीलाई सही दिशामा हिँडाउन नसकेको र कार्यकर्तालाई एकताबद्ध गर्न नसकेको आरोप लगाउनुभयो ।
काङ्ग्रेसका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिटौलाले दरो प्रतिपक्षको भूमिकासमेत काङ्ग्रेसले निर्वाह गर्न नसकेकोमा दुःख व्यक्त गर्दै एकताबद्ध र सही तरीकाले काम गर्न नसक्नुको दोष पार्टी नेतृत्वले लिनुपर्छ भन्नुभयो ।
‘पार्टी शीर्ष नेताले नै कार्ययोजना बनाएर काम नगरेपछि कार्यकर्ताले के गर्नु’ उहाँले भन्नुभयो, ‘अहिले त काङ्ग्रेसको योजना नै छैन ।’
नेता सिटौलाले वर्तमान सरकारले संविधान बाहिर गएर काम गर्न थालेको आरोप लगाउँदै अहिलेसम्म सरकारको कार्ययोजना हेर्दा पूरै असफल भएजस्तो देखिएको धारणा व्यक्त गर्नुभयो । (रासस)