मंसिर ७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले घोषित नीति र कार्ययोजनाअनुसार सरकार चल्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रावलले निर्धारण गरेको मार्गचित्रअनुसार सरकारले काम गर्यो भने जनताको चाहना पूरा हुने बताए ।
रावलले स्थायी समितिको बैठक बसेर सरकारको कामबारे समीक्षा र पार्टीको तल्ल तहसम्मको एकताबारे टुङ्गो लगाउन नेतृत्वलाई सुझाब दिए ।
“हामीले सामाजिक न्याय दियौँ कि दिएनौँ । जनताका आकांक्षा पूरा गर्न कस्ता कार्यक्रम ल्यायौँ ? कस्ता ल्याउनुपर्छ । यि सबै विषयमा समीक्षा गर्नुपर्छ ।” रावलले भने ।
तत्काल पार्टीका सबै कमिटी बनाएर देशभरका कार्यकर्तालाई काम दिनुपर्नेमा उनको जोड छ ।
राष्ट्रपतिलाई १८ करोडको सवारी सधान खरिदको विषयमा रावलले राष्ट्रपतिको गरिमा कायम राख्नुपर्ने भए पनि जनताको माग र आवाजलाई पनि ख्याल गर्नुपर्ने बताए ।
सरकारले प्राथमिकताका आधारमा काम गर्नुपर्ने बताए ।
डडेल्धुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । तीमध्ये १४ जनाको सनाखत भएको छ ।
डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार दुर्घटना भएको हो ।
रावलले यस्ता दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराए ।