Logo

जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : पौडेल (भिडियोसहित)



काठमाडौं, ९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । यद्धपी उनले भयंकर गल्ती नै गरेकोजस्तो काम सरकारबाट नभएको स्पष्ट पारेका छन् ।

https://www.youtube.com/watch?v=4eMm3JoG2UU&t=164s

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले वर्तमान सरकार ६, ८ वा ९ महिनाको लागि मात्रै गठन नभएको बताउँदै भने,‘यो सरकार ५ वर्षको लागि गठन भएको हो । सरकारले यो बीचमा कर प्रणालीलाई नियमन गरेको छ । अर्को सालमा काममा गति हुन्छ । स्वयम प्रधानमन्त्रीले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर कार्यप्रगतिको समिक्षा गर्नुभएको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारका विषयमा उठेका आलोचना र खबरदारीलाई गम्भिर रुपमा समिक्षा गर्नुपर्ने बताए । उनले भने,‘हामी यस विषयमा पार्टीभित्र गम्भिर समिक्षा गर्छौं । सरकारमा सहभागी गठबन्धन दलसँग छलफल गर्छौं । स्वयम् प्रधानमन्त्रीले पनि चूनोतिको महशुस गर्नुभएको छ ।’

नेता पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने बताए ।

उनले भने,‘सम्मानीय राष्ट्रपतिज्यूले मलाई यो प्रकृतिको गाडी चाहियो भनेर माग्नुभएको छैन् । गाडी खरिद गर्ने निर्णय २०७१ सालमै भएको हो । तर, एउटा दुई वटा गाडी खरिद प्रकरणलाई लिएर यसरी लिनु राम्रो हुँदैन् । बरु हामीले विकास निर्माणको बारेमा बहस गर्नुपर्छ । सम्मानित संस्थालाई बेप्रसँगमा विवादमा ल्याउनुहुँदैन् ।’

राष्ट्रपति तथा प्रधानमन्त्रीको जीवनस्तर सामान्य होस भन्ने जनताको चाहना हुनु स्वभाविक भएको उनको प्रतिक्रिया छ । तर, सुरक्षाको हिसाबले ‘बुलेट–प्रुफ’ गाडी चाहिनु पनि अस्वभाविक नभएको नेता पौडेलको जिकिर छ । उनले भने,‘जनताको खबरदारीलाई सहजताका साथ लिनुपर्छ । तर, अहिले १८ करोडमा एउटामात्रै गाडी किन्ने कुरा भएको होईन, ग्रुपमा गाडी किन्न लागिएको हो ।’



प्रतिक्रिया दिनुहोस्