Logo

नेतृत्वको विषयमा राजापाभित्र विवाद



काठमाडौं ११ मंसिर । चक्रीय प्रणालीअनुसार राष्ट्रिय जनता पार्टीमा नेतृत्व परिवर्तन भएपछि विवाद बढेको छ । ६ मधेसकेन्द्रित दलबीच एकीकरण भएयता अध्यक्षमण्डलको नेतृत्व गर्दै आएका महन्थ ठाकुरले दोस्रो वरीयताका राजेन्द्र महतोलाई नेतृत्व हस्तान्तरण गरेपछि विवाद चर्किएको हो ।

गत मंसिर ४ गते बसेको अध्यक्षमण्डलको बैठकले चक्रीय प्रणालीमा जाने निर्णय गरेको थियो । नेतृत्व हस्तान्तरणको विषयमा तत्कालीन नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले फरकमत राखेका छन् ।

 

उनीसहित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका केही नेता महतोको नेतृत्वप्रति असन्तुष्ट बनेका छन् । उनीहरूले ठाकुरलाई नै अध्यक्ष बनाउनुपर्ने बताएका छन् ।

पार्टी विधानमा महाधिवेशनसम्मका लागि अध्यक्षमण्डलका सदस्यबीच दुई/दुई महिना पार्टीको नेतृत्व आलोपालो लिने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार नेतृत्व हस्तान्तरण गरिएको हो । चक्रीय प्रणालीअनुसार महतोपछि क्रमश: महेन्द्र यादव, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव नेतृत्वमा पुग्नेछन् ।

तोकिएकै मिति वैशाख ७–९ सम्म महाधिवेशन भए झा र यादवले नेतृत्व लिने अवसर पाउने छैनन् । महाधिवेशनका बेला शरदसिंह भण्डारी नेतृत्वमा पुग्नेछन् । महाधिवेशनपछि भने पार्टी एकल नेतृत्वमा जाने महासचिव केशव झाले बताए ।

मंसिर ४ को अध्यक्षमण्डल बैठकले ०७४ असार २३ मा निर्वाचन आयोगमा दल दर्ता गरेयता भएका महासचिव, उपमहासचिव र सदस्यको मनोनयन खारेज गर्ने निर्णय गरेको छ । यो निर्णयमा समेत नेता अनिल झासहितका नेता असन्तुष्ट छन् ।

उनीहरूले खारेजीमा परेका महासचिव, उपमहासचिव र सदस्यको पुनर्बहाली हुनुपर्ने माग उठाएका छन् । उनीहरूले छुट्टै भेलाको तयारीसमेत गरेको झानिकट एक नेताले बताए ।

संविधान संशोधनको विषयमा सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको राजपा आन्तरिक कलहमै अल्झनु दु:खद रहेको महासचिव झाले बताए ।

‘पार्टीमा जुन खालको विवाद भनिएको छ, त्यस्तो होइन । नेतृत्व परिवर्तन वैधानिक बाटोबाटै भएको हो,’ झाले भने, ‘महन्थ ठाकुर सम्मानित नेता हुनुहुन्छ । उहाँका बारेमा चिन्ता गर्नुपर्ने अवस्था छैन ।’ कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्