Logo

नेपाल मेडिसिटीमा थाइरोइड व्यवस्थापन विषयक २ दिने कार्यशाला



काठमाडौं, २२ मंसिर । ललितपुरको भैसेपाटीस्थित् नेपाल मेडीसिटी अस्पतालमा थाइरोइड समस्या व्यवस्थापन विषयक २ दिने कार्यशालाको उद्घाटन भएको छ ।

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीले समयमै समस्या पत्ता लगाई सही उपचार पाउन सके थाइरोइड व्यवस्थापन सहज बन्नसक्ने धारणा राख्नुभयो ।

पहिलोपटक प्रमुख अतिथि बन्न स्विकार गर्नुभएको बताउँदै गिरीले थाइरोइड विशेषज्ञहरुबाट प्रभावित भएको पनि प्रतिक्रिया दिनुभयो ।
सिग्मन फ्रायडको साइकोलोजी फर एभरी डे अफ लाइफबाट साभार गर्दै उहाँँले हरेक चिकित्सकले सही परामर्श दिँदै बिरामीलाई भयबाट टाढा राख्नुपर्ने धारणा राख्नुभयो ।

देशभर तथा भारतबाट समेत गरि ४० सहभागी रहेको कार्यक्रम नेपाल मेडीसिटीको आयोजनामा भएको हो भने पब्लीक हेल्थ फाउण्डेसन अफ इण्डिया, चेल्लाराम डायबेटिस इन्स्टिट्युट तथा डायबेटिस एण्ड इन्डोक्राइनोलोजी एशोसिएसन अफ नेपाल “डिन” को समेत सहयोग रहेको छ ।

नेपाल मेडीसिटी वेलनेस विभाग प्रमुख डा. मिमि गिरीले २ दिने कार्यक्रममा ४ सत्र रहेको र थाइरोइड व्यवस्थापनमा सक्रिय चिकित्सकहरुलाई यसले धेरै मद्धत गर्ने अपेक्षा राखेको विश्वास व्यक्त गर्नुभयो ।

४ मोड्युलमा विभाजित कार्यक्रमको पहिलो दिन थाइरोइड समस्याको परिचय र हाइपोथाइरोइडिजम्मा केन्द्रित रहेको छ । त्यस्तै, शनिबार अर्थात दोश्रो दिन भने हाइपर थाइरोइडिजम् व्यवस्थापन तथा थाइरो टक्सीकोसीस् र थाइरोडियोलोजी विशेषमा छलफल हुने अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कार्यक्रमको समापन अघि वरिष्ठ थाइरोइड रोग विशेषज्ञ, नाक कान तथा घाँटी विशेषज्ञ सहित रेडियोलोजीप्स्ट र प्याथोलोजीस्ट सहितको प्यानल डिस्कसन गरिनेछ ।

देशभरका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु सहभागी यस कार्यक्रममा भारतबाट आउनुभएका डा.हरिश चाँदवानीले यस किसिमको कार्यक्रमले नयाँ नयाँ अध्ययन र उपयोगी प्रविधिका बारेमा जानकारी हाँसील गर्न सहयोग पुर्याउने प्रतिक्रिया दिनुभएको छ । उहाँले कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी पनि व्यक्त गर्नुभएको छ ।

शनिबार सम्पन्न हुने कार्यक्रमले विभिन्न स्थानमा छरिएर रहेका चिकित्सकहरुमार्फत थाइरोइडको उपचार अझ उन्नत हुने आयोजक संस्थाहरुको अपेक्षा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्