काठमाडौं, २६ मंसिर । काठमाडौँ महानगरपालिकाले ‘हाम्रो काठमाडौं हामी बनाउँछौं’ भन्ने मूल नारासहित ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा २०७५’ को शुभारम्भ गरेको छ।
राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा कार्यक्रमको शुभारम्भ गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले सरकारले अघि बढाएको ‘खुशी नेपाली समृद्ध नेपाल’ को अभियानलाई सफल बनाउन सो कार्यक्रम सहयोगी बन्ने बताए।
मेयर शाक्यले भने,‘खुशी नेपाली समृद्ध नेपालको नारा जसले बनायो उसको मात्रै होइन। समृद्ध नेपाल हामी सबैको चाहना हो, ‘हामी सबैले त्यो नारालाई सफल बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ। राष्ट्र समृद्ध भयो भने मात्र हामी सुखी र खुशी बन्छौं। सुखी र समृद्ध नेपाल बनाउनका लागि काठमाडौँ महानगरपालिका पनि समृद्ध हुनुपर्छ। काठमाडौँ समृद्ध बनाउन युवा र विज्ञहरुले पनि साथ दिनुपर्छ।’
उनले समृद्ध महानगरपालिका बनाउन युवा र विज्ञहरुको समेत साथ लिएर महानगरपालिका अघि बढेको बताए। उनले महानगरपालिकालाई परिवारको संज्ञा दिँदै भने, ‘एउटा घर–परिवार सफल बनाउन आमा–बुवा अथवा अभिभावकको जस्तो भूमिका हुन्छ, महानगर सफल बनाउन पनि हामी जनप्रतिनिधिको त्यस्तै भूमिका हुनुपर्छ। महानगरको विकासका लागि एउटै सोंच लिएर हिड्ने हो भने असम्भव केही छैन।’
उनले काठमाडौं महानगरपालिका मुलुककै राजधानी भएको भन्दै यहाँ करिब ५० लाख मानिस बसोबास गर्ने भएकाले सुन्दर महानगर बनाउने चाहना मेयर, उपमेयर, वडाध्यक्ष, सदस्य र कर्मचारी मात्रै नभई सबैको हुनुपर्नेमा जोड दिए। उनले बोलीमा मात्र होइन काममै स्मास्र्ट सिटी बनाउने अभियानमा महानगरपालिका लागेको पनि बताए।
उपमेयर हरिप्रभा खड्कीले पनि सबै मिलेर महानगरको विकासमा अघि बढनु पर्ने बताइन। उनले यो कार्यक्रमले स्मार्ट महानगर बनाउने सबैको चाहना पूरा हुने विश्वास व्यक्त गरिन।
प्रमुख कार्यकारी अधिकृत यादव कोइरालाले नेपालमा व्याप्त बेरोजगारी र त्यसका कारण युवाहरुको विदेश पलायन हुने समस्यालाई समाधान गर्दै नविन सोचको माध्यमबाट प्रविधियुक्त उद्यमशीलता प्रवर्द्धन गर्ने दिशातिर यो अभियानले लैजाने दाबी गरे।
उनले नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालन गर्न प्रोत्साहन र प्रश्रय दिई प्रविधिमैत्री व्यापारशैली अबलम्बन गर्दै काठमाडौं महानगरपालिकाले स्वदेशमै बसी उद्यमशीलता प्रबर्द्धन गर्न सक्ने सामूहिक प्लेटफर्म विकास गर्ने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरेको बताए।
तस्विर : मुकुन्द कालिकोटे