Logo

योगीको जनकपुर भ्रमण : निधिको दोहोरो चरित्र भन्दै जनस्तरबाटै विरोध



काठमाडौं, २७ मंसिर । सीताराम विवाह महोत्सवअन्तर्गत भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अयोध्याबाट जन्तीमा आएर स्वदेश फर्किसकेका छन् । तर, जनकपुरमा भने अझैपनि उनको भ्रमणलाई लिएर चर्चा तथा परिचर्चा भैरहेको छ ।

खासगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले योगीको भ्रमण पुर्व र भ्रमण ताका दोहोरो चरित्र देखाएको भन्दै जनकपुरमा उनकै कार्यकर्ताहरुले आलोचना गरिरहेका छन् । योगीलाई प्रदेश नं २ सरकारले हिजो जनकपुरमा भव्य सम्मान पनि गरेको थियो ।
जानकी मन्दिर परिसरमा योगीलाई स्वागत गर्न अग्र भागमा निधिलगायत कांग्रेसका प्रभावशाली नेताहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । यो देखेर कांग्रेसका कार्यकर्ताहरु भन्दै थिए,‘योगीजीको भ्रमणपूर्व उहाँले विरोध जनाउनुभएको थियो । तर, आज त उहाँ नै सबैभन्दा अगाडि बसेर स्वागत गरिरहनुभएको छ । यो त दोहोरो चरित्र भयो नि।’

योगीलाई मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरेका थिए।

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता महन्त ठाकुर, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतो, सांसद कोमल ओली प्रदेश नं २ सरकारका मन्त्री, प्रदेशसभाका सभामुख सरोजकुमार यादव, नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पूरी र प्रदेशसभा सदस्यको उपस्थिति थियो।

जनकपुर आउनुपुर्व निधिले योगीलाई लिएर विभिन्न आरोपहरु लगाएका थिए । योगीलाई किन बोलाएको भन्दै उनले संघीय सरकारलाई समेत प्रश्न तेर्साएका थिए । उनले त्यतिवेला योगीको जनकपुर भ्रमणबारे पत्रकार सम्मेलन गरेर नै विरोध गरेका थिए ।

यसअघि उनले मुख्यमन्त्री आदित्यनाथको भ्रमणले नेपालमा राजनीतिमा अस्थिरता उत्पन्न हुनसक्ने भन्दै भ्रमणप्रति आपत्ति जनाएका थिए। तर निधिको विरोधप्रति आफ्नै पार्टीका नेताहरुले पनि आपत्ति जनाएपछि उनी एकाएक ब्याक भएका थिए ।

पछि उनले भनेका थिए,“मैले जनकपुर–जयनगर रेलवेको उद्घाटन मुख्यमन्त्री तहबाट नभई केन्द्रीय तहबाट हुनुपर्छ भनेको हुँ। तर विवाहपञ्जमीमा जन्तीको रूपमा आउने सबैको हामीले स्वागत गर्छौं।’’ नभन्दै उनी योगीलाई स्वागत गर्न कांग्रेसका प्रभावशाली नेताहरु आनन्द ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादवलगायतका प्रभावशाली नेताहरुलाई सिम्रिक एयरको हेलिकप्टरमा हालेर पुगेका थिए ।

निधिले योगी हिन्दुवादी र राजावादी नेता भएकोले उनको भ्रमणप्रति आपत्ति जनाएका थिए । तर, पछि विज्ञप्ती निकालेरनै उनले योगीको भव्य स्वागतमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । त्यसमा आफू पनि खरो उत्रिएका थिए । अहिले निधिको चरित्र कस्तो छ ? भनेर देख्यौ ? भन्दै व्यापक विरोध भएको छ । कार्यकर्ताले पनि विरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्