काठमाडौं, २ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति सदस्यहरुले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई दबाब दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । पूर्व सांसद एवम् महासमिति सदस्य रामहरि खतिवडाले कांग्रेसलाई अझैपनि पहिलो पार्टी बनाउन सकिने धारणा राखे । तर, त्यसको लागि नेताहरु एकजुट हुनुपर्ने उनको भनाई छ ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता खतिवडाले नेतृत्वलाई अब नातावाद र दातावादबाट टाढा रहनुपर्ने सुझाव दिए । उनले भने,‘पार्टीभित्र अहिले नातावादभन्दापनि दातावाद हावी भयो । अहिलेपनि कांग्रेसलाई पहिलो पार्टी बनाउन सकिन्छ ।’
नेताहरुले व्यक्तिलाई हेरेर विधान बनाउन नहुने उनको धारणा छ । उनले भने,‘समग्र कार्यकर्ताहरुलाई हेरेर विधान बनाउनुपर्छ । पार्टी जनताको हितमा कसरी उतार्न सकिन्छ भनेर बहस गर्नुपर्छ ।’ संविधानमै धर्मनिरपेक्षता लेखिएकोले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको खतिवडाले जोड दिए । उनले भने,‘कांग्रेसले अब आफ्ना मुद्दा जनताको बिचमा लैजानुपर्छ ।’
नेताहरुले हात मिलाउँदैमा पार्टी एक ढिक्का नहुने उनको तर्क छ । उनले भने,‘नेताहरुले हात मिलाउँदैमा पार्टी एक ढिक्का हुँदैन् । यसको लागि कार्यकर्ताको मन जित्नुपर्छ ।’
फरक प्रसँगमा उनले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरे । उनले भने,‘सरकार सबै हिसाबले असफल भएको छ । सरकार असक्षम छ ।’
सांसद निरु पालमाथि आक्रमण भएको तर अहिलेसम्म छानबिन समितिले संसदमा कुनैपनि जानकारी नगराएको भन्दै खतिवडाले यो घट्नालाई पनि सरकारको असक्षमतासँग जोडे । निर्मला पन्तको बलात्कारपछिको हत्या भएको यतिका दिन बितिसक्दापनि अहिलेसम्म सरकारले हत्यारा पत्ता लगाउन नसकेको उनको आरोप छ । उनले भने,‘दिनदाहाडै काठमाडौंमा पूर्वराजदुतको हत्या भएको छ । तर, अहिलेसम्म यो सरकारले हत्यारा पत्ता लगाउन सकेन ।’