Logo

खरेलको अथक मेहनत : वायु सेवा निगममा देखिन थाले सुधार



काठमाडौं, ७ पुष । नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षको जिम्मेवारीमा मदन खरेल आएपछि एकाएक निगममा सुधारका संकेत देखिएका छन् । पछिल्लो समय निगमले आम जनताको मन छुने काम गरेको छ ।

निगममा खरेलको आगमनसँगै जापानको ओसाका र चीनको गोन्जाओमा यसका कार्यालयहरु खोलिएका छन । निगमले आगामी फेब्रुअरीदेखि जापानको ओसाकामा फ्लाईट सुरु गर्दैछ । उनकै पहलमा यो काम अघि बढेको हो । गोन्जाओमा पनि मार्च–अप्रिलसम्म निगमले उडान भर्ने बुझिएको छ ।

खरेलले नेपाल एयरलायन्सका टिकटलाई पनि अब अनलाईन प्रणालीमा सुचारु गरेका छन् । आन्तरिक उडानतर्फका सबै टिकटहरु अहिले अनलाईनबाटै काट्नेगरि कार्यान्वयनमा ल्याईएको छ । खरेलको पहलकदमीको सेवाग्राहीले खुलेर प्रशंसा गरेका छन् ।

झण्डै चार वर्ष त्रिभुवन विमानस्थलको चउरमा थन्किएको जहाज निगमको कार्यकारी अध्यक्षको रुपमा खरेल भित्रिएपछि सफा गर्न थालियो। उनी आउनेवित्तिकै चिनियाँ जहाज उडाउन पहल गरे । उनी कार्यकारी भएर आएपछि चउरमा थन्किएको जहाज उनी आएको साता दिनमै चारवटा जहाजको प्रुफिङ फ्लाइट सुरु भयो। प्राधिकरणले लुक्ला, सिमीकोट, जुफाल, मुगुको ताल्चामा परीक्षण उडान सफल भयो।

परीक्षण उडान सफल भएपछि उनै खरेलले जहाज उडाउन चाँजोपाँचो मिलाएका हुन । असोज १९ गतेबाट चिनियाँ जहाजले ती क्षेत्रमा व्यवसायिक उडान सुरु गर्यो। यो व्यवसायिक उडानले निगमको स्टोल रुटमा चमत्कारिक आम्दानी गर्न थालेको छ। निगमका कर्मचारीका अनुसार चिनियाँ जहाजले मासिक ५० लाखभन्दा बढि नै आम्दानी गरिरहेको छ।

त्यस्तै, कार्यालमा हुने अनावश्यक खर्चहरुमा समेत उनले व्यापक कटौती गरेका छन । उनको यो कदमप्रति पनि ईमानदार कर्मचारीहरुले खुलेरै प्रशंसा गरेका छन् ।

एक कर्मचारीले भने,”खरेल सर आएपछि अहिले थुप्रै सुधारका कामहरु अघि बढिसकेका छन् । उहाँले अहोरात्र खटेर वायु सेवा निगमको हितमा काम गर्नुभएको छ । हामी उहाँको लगनशिलता र दुरदर्शी नेतृत्वदायी भुमिकाबाट आभारी छौं । उहाँले नेवानिका सानादेखि ठूला कर्मचारीसँग एकनाशको व्यवहार देखाउनुभएको छ । समन्वयात्मक भूमिका निर्वाह गरिरहनुभएको छ । उहाँसँग कोही पनि असन्तुष्ट छैनन् ।”

वाई–१२ जहाज ल्याएको चार वर्षदेखि सञ्चालनमा नआएकोलाई, उनले आफू अध्यक्षको कार्यभार सम्हालेको चार दिनपछि नै सञ्चालन गरेर देखाईदिए । जुन कुराको जनस्तरबाटै प्रशंसा भएको छ ।

खरेल आउनुपुर्व निगमको एउटामात्रै जहाज उडिरहेको थियो । तर, अहिले उहाँ आएपछि पाँचवटा जहाज आन्तरिकतर्फ उडिरहेका छन् । खरेल कहिले आन्तरिक र कहिले अन्तर्राष्ट्रिय विमानस्थलमा निरिक्षणको लागि आँफै जान्छन् । विहान ९ बजेदेखि राति ९ बजेसम्म उनी कार्यालयको काममै खटिन्छन् । दिनरात नभनी खरेलले निगमको सुधारको लागि मेहनत गरिरहेका छन् । जसको प्रतिफल अहिले देखिरहेको छ । उनको मिहिन लगावका कारण निगममा देखिएका सकारात्मक सुधारले कर्मचारीहरु पनि औधी खुशी छन् ।

विगतमा निगमका जहाजमा यात्रुको कमी हुन्थ्यो तर, अहिले जहाजहरु भरिभराउ भएका छन् । खरेल कार्यकारी अध्यक्ष भएर जिम्मेवारीमा आएपछि अहिलेसम्म नेपाल एयरलायन्सको कुनैपनि नफ्लाईट क्यान्सिल नभएको निगमका कर्मचारीले जानकारी दिए ।

जहाजमा कुनै खराबी आए खरेल आँफै बसेर मर्मत गराउँछन् । योपनि उनको अर्को राम्रो काम हो । खरेलले सरकारसँग निकै राम्रो समन्वय पनि गरेका छन । खरेलसँग कर्मचारीहरुपनि निकै खुशी छन् ।

कतिपयले त वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकारको ९ महिनाको कार्यकालमा सबैभन्दा उत्तम र सही निर्णय निगमको कार्यकारी अध्यक्षमा खरेलको नियुक्तीलाई मान्छन् । खरेलको भूमिकाले पनि सरकारको उक्त निर्णय सबैभन्दा सफल, वस्तुनिष्ठ र सही सावित भएको छ । यदि खरेलले यसैगरि काम गर्ने हो भने नेपाल वायु निगमले एक वर्षभित्रै ठूलो फड्को मार्ने विश्वास लिईएको छ । खरेललाई सबै सरोकारवाला निकायले साथ दिनुपर्छ । यसको विकल्प छैन ।



प्रतिक्रिया दिनुहोस्