Logo

‘स्थायी कमिटी बैठकमा मन्त्री फेरबदलको कुरा पनि उठेको छ’



पुष ९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले स्थायी कमिटिको बैठकमा भएको छलफलले पार्टीभित्र विवाद नबढाउने जिकिर गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै सापकोटाले पार्टी एकीकरणले अन्तिम रुप नदिएकाले केही समस्या भए पनि विस्तारै सबै समस्या समाधान हुँदै जाने बताए ।

अध्यक्षद्धयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि जनवादी शैलीमा छलफल भइरहेको सापकोटाले बताए । सरकार र पार्टी संचालनका विषयमा भएका छलफलले सकारात्मक नतिजा दिने उनको जिकिर छ ।

बामदेव गौतमले फरक प्रतिवेदन पेश गरेको नभै आफ्नो विचार मात्रै प्रस्तुत गरेको बताए । छलफलपछि गौतमको पनि चित्त बुझ्ने सापकोटाले बताए ।

सरकारको काम प्रभावकारी नभएको विषयमा पनि गहन समीक्षा भइरहेको उनले बताए । आवश्यकताअनुसार मन्त्री फेरबदलको कुरा पनि उठेको उनले बताए । तर मन्त्रालय नै तोकेर फलानो मान्त्री फेर्नुपर्छ भन्ने विषय कसैले पनि नउठाएको सापकोटाले बताए ।

“प्रभावकारी काम गर्न नसक्नको बारेमा सोच्नुपर्छ भन्ने सुझाब आएको छ ।” सापकोटाले भने । नेपाली कांग्रेस आफैँ दलदलमा फसिरहेको अवस्थामा सरकारको आलोचना गर्नु स्वभाविक भएको सापकोटाले बताए ।



प्रतिक्रिया दिनुहोस्