Logo

वाईडबडी प्रकरण : मन्त्री अधिकारीलाई सांसदले आच्छुआच्छु पारेपछि…



काठमाडौं, १० पुस । सांसदहरुले वाईडबडी जहाजको किस्ता रकम भुक्तानी किन दिएको ? भन्दै मन्त्री रवीन्द्र अधिकारीलाई प्रश्न गरेका छन् । तर, अधिकारीले महालेखा परीक्षकसँग छलफल गरेरै वाइडबडी विमानको रकम भुक्तानी गरेको स्पष्ट पारेका छन् ।

मंगलबार सार्वजनिक लेखा समितिको वाइडबडी विमान खरिद सम्बन्धमा गठित उपसमिति बैठकमा सांसदहरुले महालेखा परीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन विपरीत भएको ठहर गरेको भन्दै किन जहाजको किस्ता रकम भुक्तानी दिएको भनेर मन्त्रीलाई प्रश्न गरेका थिए ।

त्यसको जवाफमा मन्त्री अधिकारीले महालेखासँग छलफल गरेरै भुक्तानी गरेको दावी गरे । महालेखा परीक्षक कार्यालयले पहिले जहाज ल्याऊ हेर्ने कुरा पछि हेरौंला भन्ने राय दिएपछि भुक्तानी दिएर जहाज ल्याएको उनले बताए ।

समितिका सदस्य एवम् काँग्रेस सांसद राजेन्द्र कुमार केसीले सो विमान उडान भर्न सक्ने अवस्थामा नरहेको भेटिएको दावी गरेका थिए ।उनले सहमतिअनुसार किन विमान खरिद नगरेको भन्दै मन्त्री अधिकारीलाई प्रश्न गरेका थिए ।

समितिका अर्का सदस्य प्रेम आलेले सहमतिभन्दा कम क्षमताको विमान खरिद गरिएको भन्दै आपत्ति जनाए । आफूले सहमतिअनुसार विमान खरिद गर्न नसकेको, सार्वजनिक खरिद ऐन विपरित विमान खरिद गरिएको लगायतका दर्जनौं प्रश्न सरकारसामू राखेको पनि उनले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्