काठमाडौं, १५ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी जनवरी १० तारिखभित्रै भारतबाट एउटा रेल किन्ने तयारी भैरहेको बताएका छन । यसअघि डिसेम्बर १२ भित्रै एउटा रेल किन्ने घोषणा गरेका महासेठले त्यो समयमा केही प्राविधिक समस्या रहेकाले किन्न नसकिएको भन्दै आगामी जनवरी १० भित्रै एउटा रेल भारत सरकारबाट किन्ने स्पष्ट पारे ।
आइतबार आर्थिक वर्ष २०७५ र ७६ को प्रथम चौमासिक रिपोर्ट प्रस्तुत गर्दै मन्त्री महासेठले यस्तो जानकारी गराएका हुन् । उनले अहिले नेपाल सरकार र भारत सरकारबीच जिटुजी मोडलमा रेल किन्ने तयारी भइरहेको र मूल्यमा करिब–करिब सहमति भएको भन्दै आगामी जनवरी १० तारिखभित्रै रेल किन्ने सम्झौता हुने दाबी गरेका छन् ।
साथै भारतबाट खरिद गर्न लागिएको उक्त रेलको मूल्य ५० करोडभन्दा कम नै रहने पनि उनले दाबी गरेका छन् । पहिलो रेल खरिद सम्झौता गरेको ३ महिनाभित्रै रेल नेपालमा आफ्नै झण्डा फहराएर गुड्ने पनि उनले दाबी गरेका छन् । नेपालले भारतसँग दुईवटा रेल किन्न लागेको छ ।
तस्विर : मुकुन्द कालिकोटे