काठमाडौं, १६ पुस । नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनु भएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा काङ्ग्रेसले आज मुलुकभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायतका कार्यक्रम गरी मेलमिलाप दिवस भव्यरुपमा मनाउन लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्कनुभएको थियो ।
गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकमा समेत शीर्ष नेताले ४३ औँ मेलमिलाप दिवस पार्टी सङ्गठन सुदृढीकरणको नयाँ अभियानका साथ मनाउने घोषणा गर्नुभएको थियो । काङ्ग्रेसले दिवसका अवसरमा व्यापक र बृहत् कार्यक्रम गरी मनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्कनुभएका काङ्ग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति राजनीतिक दल र राजशक्ति राजा मिल्नुपर्ने धारणा राख्नुभएको थियो ।
तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका बिपीलगायत नेतालाई तत्कालीन सरकारले मेलमिलाप त परै जाओस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए ।
राजा महेन्द्रले २०१७ सालमा नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत काङ्ग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुकासाथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।
नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा जानुभएका नेताहरू राष्ट्रियतामाथि खतरा आएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किनुभएको थियो ।
प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गर्नुभएका जननायक बिपी कोइराला कुनै दल विशेषको मात्र नभई मुलुककै राजनेताका रूपमा चिनिनुुहुन्छ । राजनीति मात्र होइन नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाउनुभएका बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पु¥याएको छ । नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अद्यपि सान्दर्भिक र अपरिहार्य छ ।
काङ्ग्रेसले आज केन्द्रीय कार्यालय र सबै जिल्ला तथा विदेशस्थित जनसम्पर्क कार्यालयमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै काङ्ग्रेसले ४३ वर्षअघि अवलम्बन गरेको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ । रासस