काठमाडौं, २३ पुस । वाइड बडी खरिदसम्बन्धी उपसिमितिले तयार पारेको प्रतिवेदन सार्वजनिक लेखा समितिले आज परिमार्जनसहित पास गरेको छ । आज विहान सिंहदरबारमा बसेको समितिको पूर्ण बैठकले उपसमितिले बुझाएको प्रतिवेदनमा केही परिमार्जन गरेर पारित गरेको हो।
तर, नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको मिलेमतोमा बहालवाला मन्त्री रवीन्द्र अधिकारीसहित पूर्व मन्त्रीद्धय जीवनबहादुर शाही र जीतेन्द्र नारायण देवलाई जोगाउनेगरि सार्वजनिक लेखा समितिले प्रतिवेदन परिमार्जन गर्दै पारित गरेको हो ।
यसअघि खरिद प्रक्रियामा बदनियत देखिएको भन्दै कारबाही माग गरिएका मन्त्री अधिकारीलाई नैतिक जिम्मेवार ठहर्याएर प्रतिवेदन पारित भएको हो।
उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्र देवलाई नैतिक जिम्मेवार र मन्त्री अधिकारीलाई बदनियत राखेको उल्लेख थियो। तर, प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री देउवाको मिलेमतोमा तीनै जना मन्त्रीलाई जोगाउने काम भएको स्रोतको दाबी छ ।
लेखाले पारित गरेको प्रतिवेदनमा तीनै मन्त्रीलाई नैतिक जिम्मेवार ठानेर कानुनअनुसार कारबाही माग गरिएको छ। यसअघि आजै पत्रकार सम्मेलन गरेर मन्त्री अधिकारीले आफूलाई अनुमान र पूर्वाग्रहका आधारमा अनियमिततामा मुछेको बताएका थिए।