काठमाडौं, ७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले तनाबमा छन् । पत्नी सिता दाहाल अहिले अस्पतालमा छिन् । ललितपुरको धापासस्थित् सुमेरु अस्पतालमा उनको उपचार भैरहेको छ । राजनीतिको केन्द्रविन्दुमा रहेका प्रचण्डलाई समय मिलाउन हम्मेहम्मे छ । तैपनि उनी पत्नीको स्वास्थ्य अवस्था बुझ्नको लागि आँफै अस्पताल पुगिरहेका छन् ।
उनी पार्टीको काममा व्यस्त रहँदापनि पत्नी सिताको स्वास्थ्यबारे बढि चिन्तित देखिन्छन् । तर, उनले पारिवारिक समस्या आफ्नो राजनीतिक जीवनमा त्यति देखिन दिएका छैनन् । छोरा प्रकाशको अन्तिम विदाईमा उनले देशका लाखौं छोराहरु नै आफ्नो लागि प्रकाश भएको प्रतिक्रिया दिएका थिए । जेठी छोरी ज्ञानु दाहालको क्यान्सर लागेर निधन भएको थियो ।
प्रचण्डले पार्टीका नेताहरुसँग भन्ने गरेका छन्,”म मा आत्मविश्वास छ । दृढ संकल्प् छ । त्यही भएर म हरेक समस्यासँग् जुध्न सकिरहेको छु ।” हुन पनि सबै टेन्सनलाई झेल्दै उनी राजनीतिक भेटवार्तामा व्यस्त छन् ।
प्रचण्डले आफ्नो बाँकी जीवन मुलुकको विकास, निर्माण र समृद्धिका लागि समर्पित गर्ने घोषणा गरिसकेका छन् । प्रचण्डले निजी–सार्वजनिक–सहकारी क्षेत्रको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने योजना पनि अघि सारेका छन् ।
उनले पछिल्ला एक दशक शान्ति र संविधान निर्माणमा आफूले बिताएको उल्लेख गर्दै अव मुलुकको विकास, निर्माण र समृद्धिको लागि जीवन समर्पित गर्ने संकल्प रहेको बताए । प्रचण्डले आफूले मुलुकको इतिहास र राजनीतिक दर्शनको अध्ययन तथा संघर्ष र लडाईमा २ दशक बिताएको बिताईसकेको र अब विकास र समृद्धिको लागि एक दशक काम गर्ने घोषणा गरेका छन् ।