माघ १२, काठमाण्डौ । आज भारतले ७० औं गणतन्त्र दिवस मनाउँदैछ । सन् १९५० जनवरी २६ तारिखमा भारतको संविधान लागू भएको थियो । सोही दिनको सम्झनामा भारतले २६ जनवरीको दिन गणतन्त्र दिवस मनाउने गर्दछ ।
मित्रराष्ट्र भारतको गणतन्त्र दिवसको अवसरमा नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन् ।
पूर्व परराष्ट्र मन्त्री डा. भेषबहादुर थापाले भारतमा गणतन्त्र स्थापनापछि उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै शुभकामना दिए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै डा. थापाले भारतको उन्नतिबाट नेपालले पनि सिक्नुपर्नेमा जोड दिए ।
भारतका लागि नेपालका पूर्व राजदूत एवम् नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का नेपाल तर्फका संयोजकसमेत रहेका डा. थापाले नेपाल–भारत प्रवुद्ध समुहले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न दुवै देशलाई ध्यानाकर्षण गराएका छन् ।
डा. थापाले नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ र अर्थपूर्ण बनाउनका लागि इपीजी प्रतिवेदन महत्वपूर्ण हुने दावी पनि गरे । थापाले आफूहरु इपिजी प्रतिवेदन कसरी अगाडि बढाइन्छ भन्ने प्रतिक्षामा रहेको बताए ।
नेपाल र भारतबाट प्रवुद्ध समुहमा आवद्ध सबैबीच समझदारी भएर प्रतिवेदन तयार पारिएको दावी गर्दै संयोजक थापाले उक्त प्रतिवेदनलाई महत्व दिन आग्रह पनि गरे ।
प्रतिवेदनमा विगतमा नेपाल र भारतबीच भएका सन्धी÷सम्झौता पुनरावलोकन गर्ने सहमति उल्लेख गरिएको थापाले जानकारी दिए । साथै दुई देशबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत बनाउनका लागि प्रतिवेदन महत्वपूर्ण हुने थापाले बताए ।
‘धेरै मिहिनेत गरेर इपिजी प्रतिवेदन तयार गरिएको हो । यसमा दुवै देश संयुक्त रुपमा जिम्मेवार बन्नुपर्छ । सर्वसम्मतिले बनेको प्रतिवेदनको महत्व धेरै छ ।’– डा. थापाले भने ।