Logo

गिरिजाप्रसाद कोइरालाको स्मृतिमा फोटो प्रदर्शनी (फोटोफिचर)



सरकारविरुद्ध कडा संघर्ष गर्ने पौडेलको चेतावनी
ललितपुर, माघ १२ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार विकास भत्काउन र इतिहास मेटाउनतर्फ लागेकाले कडा संघर्षमा उत्रने चेतावनी दिनुभएको ।

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जी.पी. कोइराला फाउण्डेशनको ललितपुर शाखा कार्यालय उद्घाटन तथा फोटो प्रदर्शनीको उद्घाटन गर्नुहुँदै वर्तमान सरकारलाई इतिहासकै भ्रष्ट भन्दै सडक र सदनमा संघर्ष गरिने बताउनुभयो ।

“यो सरकार विकास भत्काउन र इतिहास मेटाउन सक्रिय छ”, पौडेलले भन्नुभयो, “अब देशभर आन्दोलनको लहर आउँदैछ ।” कम्युनिष्टहरुले बहुमतका नाममा अधिनायकवाद लाद्न खोजेको भन्दै काँग्रेस त्यसविरुद्ध सशक्त रुपमा उत्रने बताउनुभयो ।

 

विगतमा गणतन्त्र ल्याउन गिरिजाप्रसाद कोइरालासँग सयौं पटक हात जोड्नेहरुले उहाँकै नाम मेटाउन खोजेको उल्लेख गर्दै प्रश्न गर्नुभयो, “हिजो गिरिजाबाबु तपाईंले गणतन्त्र भनिदिनुप¥यो भन्दै सयौं पटक हात जोड्ने अहिले उहाँकै नाम मेटाउन खोज्ने ?” देशमा यति ठूलो परिवर्तन ल्याउन गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको ठूलो भूमिका रहेको भन्दै कुनै हालतमा इतिहास मेटाउन नदिने दृढता व्यक्त गर्नुभयो ।

वाइडबडी खरिद, एनसेल कर छलीलगायत विकास निर्माणमा भएका भ्रष्टाचारमा वर्तमान सरकारले संलग्नता रहेको भन्दै त्यसविरुद्ध भण्डाफोर गर्ने बताउनुभयो ।

देशमा कम्युनिष्टहरुले भ्रम छर्दै अन्याय, अत्याचार र भ्रष्टाचार बढाएकोमा काँग्रेस चुप लागेर बस्न नसक्ने बताउनुभयो । काँग्रेसमा १३ औं महाधिवेशनपछि निकै कमी कमजोरी भएकाले अब सच्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,”अब काँग्रेसमा परिवर्तन हुनेछ ।”

जीपी कोइराला फाउण्डेशनकी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले काँग्रेसलाई सक्छु भन्नेहरु आफै सक्किने बताउनुभयो । अहिले काँग्रेसलाई सक्याउँछु भनेर सरकारमा रहेकाहरु लागेको भन्दै उनीहरुकै अस्तित्व संकटमा पर्ने अवस्था आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउनेहरु एउटै नाउमा छौं,” अर्कोलाई सक्छु भन्नेहरु आफै सकिनेछ । काँग्रेस छिट्टै सशक्त बनेर देशमा लोकतन्त्रको रक्षा र समृद्धिको नेतृत्व गर्ने अवस्थामा पुग्ने बताउनुभयो । जीपी कोइराला फाउण्डेशनले राजनीति भन्दा माथि उठी सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने गरीी भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।

पूर्व अर्थमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले वर्तमान सरकारले अर्थतन्त्रलाई बर्बादीतर्फ धकेलेको बताउनुभयो । देशमा राजश्व संकलन देखि विकासको गति सुस्त रहेकोले संकटको खतरा औल्याउनुभयो ।

लगानीको वातावरण नभएको र भ्रष्टाचार निकै बढेकाले जनतामा निराशा छाएको उहाँको भनाई थियो । देशलाई संकटबाट बचाउन काँग्रेसले गम्भीरताका साथ कदम चाल्ने बताउनुभयो ।

राष्ट्रिय सभाकी सांसद तथा नेपाल महिला संघकी महासचिव धना खतिवडाले देशमा अधिनायकवाद र अराजकता बढेको औल्याउनुभयो । काँग्रेसले जिम्मेवार र सशक्त प्रतिपक्षका रुपमा देशलाई संकटबाट बचाउने बताउनुभयो ।

जीपी कोइराला फाउण्डेशन प्रदेश नम्बर ३ की इञ्चार्ज रीता खनालले फाउण्डेशनले देशव्यापी रुपमा सामाजिक कार्यक्रमहरु गर्ने बताउनुभयो । पूर्व सांसद रामकृष्ण चित्रकारले काँग्रेसले विगतमा पनि तानाशाहहरुसँग संघर्ष गरेर जनाधिकार स्थापित गरेको स्मरण गराउँदै पछिल्लो समय कम्युनिष्टहरुको अधिनायकवादलाई समाप्त पार्ने बताउनुभयो ।

जीपी कोइराला फाउण्डेशन ललितपुर जिल्ला संयोजक जीतेन्द्र श्रेष्ठले तल्लो तहसम्म पुगेर समाज हितमा आफूहरु सक्रिय हुने बताउनुभयो । फाउण्डेशनले नितान्त सामाजिक कार्य गरेर सकारात्मक सन्देश प्रवाह गर्ने योजनाहरु अगाडि बढाएको जानकारी दिनुभयो ।

कार्यक्रममा गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रदर्शनी गरिएको थियो । सहभागीहरुले कोइरालाको बाल्यकाल देखि जीवनको उत्तराद्र्धसम्मको फोटोको अवलोकन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्