माघ १८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपीओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले निर्मला प्रकरण, सुन काण्ड, बुढिगण्डकी, वाइडबडी लगाइतका विवादित मुद्धामा सरकारले ठोक प्रगति हासिल गर्न नसकेको जिकिर गरेका हुन् ।
वाइडबडी विमान खरिद गर्दा जोकोहीले भ्रष्टाचार गरेको पाइए पनि कानुनी दायरामा ल्याएर कारबाही गर्नु डा. कोइरालाले मागसमेत गरे ।
यस्ता प्रकरणका दोषीलाई कारबाही गर्न नसक्ने हो भने नेपालमा भ्रष्टाचार झन मौलाउँदै जाने उनले बताए ।
विमान खरिद गर्दा कांग्रेस सभापती शेरबहादुर देउवाले नै भ्रष्टाचार गरेको पाइए पनि कसैले जोगाउन नसकिने कोइरालाले स्पष्ट पारे ।
विमान खरिद प्रकरणमा नाम जाडिए पनि देउवा आफैँले छानविनका लागि आग्रह गरेको कोइरालाले स्मरण गराए ।
बहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने उनले बताए । त्यसैगरी पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही र जितेन्द्र देवले पनि नैतिकताको आधारमा दलीय जिम्मेवारीबाट राजिनामा दिनुपर्ने कोइरालाले बताए ।
भ्रष्टाचारीलाई कारबाही नगरी देश अघि बढ्न नसक्ने कोइरालाको ठहर छ ।