काठमाडौं, २० माघ । स्पेनिस लिग फुटबलमा बार्सिलोना र भ्यालेन्सियाले २–२ गोलको बराबरी खेलेका छन् । घरेलु मैदान नुओ क्याम्पमा भएको खेलको ३२ मिनेटभित्र बार्सिलोना २–० ले पछि पर्यो ।
भ्यालेन्सियाका लागि केभिन गामेइरो र ड्यानिएल पारेयाले सुरुवाती दुई गोल गरे । यसपछि बार्सिलोनाका लियोनल मेस्सीले दुई गोल गर्दै खेल बराबरी गरेका हुन् । गएरातिको बराबरीपछि शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५० अंक भएको छ ।
दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २१ खेलबाट ४४ अंक छ । उसले आजराति रियाल बेटिससँग खेल्नेछ । गएराति भएका अन्य खेलमा रियाल सोसिडाडले एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउँदा सेल्टा भिगोले सेभियालाई १–० ले हरायो ।
यस्तै लेभान्ते र गेटाफेले गोलरहित बराबरीमा चित्त बुझाएका छन् । २२ खेलबाट ५० अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा कायमै छ। यस्तै एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ४४ अंकसहित दोस्रो तथा ३९ अंकसहित रियल म्याड्रिड तेस्रो स्थानमा छन्।
एजेन्सीको सहयोगमा