काठमाडौं, २२ माघ । नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले भोलि माघ २३ गतेबाट लागू हुनेगरी सञ्चारमन्त्री गोकुल बास्कोटासमक्ष राजीनामा पेश गरेकी छन् ।
पौडेलले आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामा भोलि माघ २३ गतेदेखि लागु हुने समेत जानकारी गराएकी छन् । पौडेलले आफूलाई दिइएका जिम्मेवारी मन्त्रालयले तोकेको समय–सीमा भित्रै समापन गरी त्यसको रिपोर्ट पनि मन्त्रीलाई बुझाएको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
‘उर्जावान नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई प्रोत्साहन तथा विशिष्ट आदरणीय चलचित्रकर्मीहरुको सम्मानमा केही उल्लेख्य कामको शुरूवात गर्ने अवसर मिल्यो। यो मेरालागि ठूलो उपलब्धि भएको छ’ पौडेलले भनेकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्,‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपारेस् भनी मैले यो निर्णय लिएकी हुँ।’ पौडेल २०७४ मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् ।