फागुन ४, काठमाण्डौ । चलचित्रकर्मी तथा हास्यव्यङ्ग्य कलाकारको रुपमा स्थापित भएका कलाकार किरण केसीले पछिल्लो समय नेपाली चलचित्र क्षेत्रको समय राम्रो नभएको बताएका छन् ।
एकपछि अर्को गर्दै चलचित्रहरु असफल भएको भन्दै केसीले चलचित्रकर्मीहरु एकआपसमा नमिल्दा समस्या आएको बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले एउटै समयमा धेरै चलचित्र प्रदर्शन गरेर जुधाउने गर्दा असफल हुने गरेको बताए ।
“१०० वटा फिल्म बन्दा ५ वटमा मात्रै सफल हुन्छ ।” केसीले भने ।
केसीले चलचित्र निर्माणका लागि विषयवस्तु छनौटमा ध्यान दिनुपर्नेमा जोड दिए । आफूहरुले बनाएको चलचित्रको विषयवस्तु छनौटमा सफल भएकाले चलचित्र दर्शकले पनि मन पराएको केसीको दावी छ ।
केसीले धमलालाई नेपालको इतिहासकै सशक्त पत्रकारको भन्दै प्रशंसा गरेका थिए ।
नेपालका लागि धमला अति आवश्यक भइसकेको केसीको भनाई थियो ।
केसीले वर्तमान सरकारले निराशा मात्रै दिएको आरोप पनि लगाए । वाइडबडी काण्ड, निर्मला प्रकरण, ३३ किलो सुन जस्ता काण्डमा सरकार असफल भएको केसीले बताए ।