Logo

नो अब्जेक्सन लेटर लिने बढे, नेपालमा किन पढ्दैनन उच्च शिक्षा ?



फागुन ९, काठमाण्डौ । सरकारले मुलुकलाई समृद्धिको दिशामा लग्ने भनिरहँदा विभिन्न बहानामा युवाहरू विदेशिने क्रम बढेको छ । पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा उच्च शिक्षा अध्ययनको बहानामा ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या दोब्बर भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा दैनिक साढे दुई सयको हाराहारीमा विद्यार्थीको घुइँचो लाग्ने गरेको छ ।

आर्थिक वर्ष २०६६÷६७ सालको तुलनामा अहिले नो अब्जेक्सन लेटर एनओसी लिनेको संख्या दोब्बर बढेको छ । नेपाली विद्यार्थी होटेल व्यवस्थापन, आइटी, नर्सिङ, इन्जिनियरिङ, मेडिसिन, व्यवस्थापन, एमबीएलगाएतका विषय अध्ययन अस्ट्रेलिया, अमेरिका, जापानलगायत देश जाने गरेका छन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०६९–०७० मा १६ हजार ५ सय ४ विद्यार्थीले एनओसी लिएका थिए ।

२०७४ वैशाख २ देखि ०७५ माघ २९ सम्म एक लाख १२ हजार ९ सय ५९ विद्यार्थीले विभिन्न मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जान एनओसी लिएका छन् । एनओसी शाखाका अनुसार ७७ देशका लागि एनओसी जारी भएको छ । एनओसी शाखाका प्रमुख देबीप्रसाद उपध्यायका अनुसार दैनिक साढे दुई सय हाराहारीमा विद्यार्थी आइरहेका छन् । विदेशमा उच्च शिक्षाको भर्ना खोलिएका वेला यो संख्या बढेर ५ सयको हाराहारीमा पुग्ने उनको भनाइ छ ।

विद्यार्थीहरु पनि नेपालमा आफनो भविष्य नभएको ,यहाँ गुणस्तरीय शिक्षा नपाएको र अध्ययनपश्चात रोजगारी नपाइने कारण विदेशिनुपर्ने तर्क गर्छन् । विदेशमा पढाइसँगसँगै काम पनि गर्न पाइने र हातमा परेको डिग्री जहिँतहिँ बिक्ने कारण विदेशिनु बाध्य भएको उनीहरूको भनाइ छ ।

अवसर र गुणस्तरीय जीवनको खोजीमा युवा बिदेसिने क्रम बढेको शिक्षाविद् विद्यानाथ काइराला पनि स्वीकार गर्छन् । उज्वल भविष्यका लागि पनि बाहिरीने क्रम बढेको उनको भनाइ छ ।

सरकारले मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने भनिरहँदा विभिन्न बहानामा युवाहरू विदेशिनु पक्कै पनि राम्रो होइन । मुलुक निर्माणमा होमिनुपर्ने युवावर्गलाई विदेश पठाएर सरकारको आकांक्षा पूरा हुन सक्दैन । त्यसैले शिक्षाको गुणस्तर सुधार, स्वदेशमौ रोजगारीको अवसर र काम गरेर सहज रूपमा जीवनयापन गर्न पाउनुपर्ने नागरिकको अधिकार सुरक्षित गर्न सरकार गम्भीर हुनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्