काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ । देउवाले कांग्रेस कोइराला परिवारको बपौती होइन भन्ने अभिव्यक्ति दिएका थिए ।कोइराला परिवारमाथि खनिए पनि देउवाको अभिव्यक्ति शेखरप्रति लक्षित थियो । शेखरको नामै लिएर उनले विरोध गरेका थिए ।
कोइरालाले भने पार्टी सभापतिको अभिव्यक्ति उनको राजनीतिक संस्कारअनुरूपकै भएको प्रतिक्रिया दिएका छन्। ‘मेरो राजनीतिक संस्कारभित्र त्यसरी बोल्न मिल्दैन र बोल्न पनि सक्दिनँ,’ उनले कान्तिपुरसँग भने, ‘उहाँ पार्टी सभापति हो, मेरो सम्मान छ। उहाँले कस्तो राजनीतिक संस्कार सिक्नुभएको हो, उहाँले जान्ने कुरा हो।’
पार्टी सञ्चालनका विषयमा शेखर सुरुबाटै देउवाप्रति असन्तुष्टमध्येका नेता हुन्। सरकारको नेतृत्व गर्दा र पार्टी सञ्चालन क्रममा समेत कोइरालाले देउवाको एकल र गलत कार्यशैलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएका थिए। स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीको हारपछि उनीसहितका नेता देउवाप्रति आक्रोशित थिए। अगि्रम महाधिवेशनको मागसमेत गरेका थिए।
निर्वाचनलगत्तै करिब ७० भन्दा बढी जिल्लाको भ्रमण गरेका कोइरालाले १४ औं महाधिवेशनमा आफूलाई सभापतिको आकांक्षीका रूपमा प्रस्तुत गरिरहेका छन्। जिल्ला दौडमा हुने क्रार्यक्रममा समेत उनी देउवाको कार्यशैलीप्रति खरो रूपमा प्रस्तुत हुँदै आएका छन्।
शेखरसँगै पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेलसहितका नेता देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर सार्वजनिक रूपमै आलोचना गर्नेमा अग्रपंक्तिमा थिए। देउवाले केही समयअघि सार्वजनिक रूपमा आफूविरुद्ध बोल्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएका थिए। कान्तिपुरबाट