Logo

एकै रात एनसेलका आधा दर्जन टावर ध्वस्त ? कसले गरायो विष्फोट ?



फागुन ११, काठमाण्डौ । देशका विभिन्न ठाउँमा रहेका दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलको आधा दर्जन टावरमा एकै रात बम विष्फोट गराइएको छ । शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयबाट सुरु भएको विष्फोटको श्रृंखलाले रातभरी निरन्तरता पायो ।

कञ्चनपुर र कास्कीमा एनसेलका टावरमा शुक्रबार राति आगजनी भएका छन् । पोखरा महानगरपालिका २७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको हो ।
एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।

यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि शुक्रबार राति आगजनी भएको छ ।

टावरमा लगाइएको घेरबारको गेटको ताला फोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरेको पाइएको छ ।

रूपन्देही र नवलपरासीमा पनि एनसेलका टावरमा आगजनी भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी भएको हो ।

यस्तै पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा रहेको एनसेलको टावरमा आगजनी भएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

एनसेलमाथि भएका यी अक्रमणमा कसको हात छ भन्ने पुष्टी भइसकेको छैन । तर धेरैले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीको संलग्नता रहेको अनुमान गरेका छन् ।

तर उक्त माओवादीले यस विषयमा केही बोलेको छैन । विप्लव समूहले भूमिगत रुपमा यस्ता गतिविधि गर्दै आएकाले प्रहरीको शंकाको दृष्टि त्यतै सोझिएको हो ।

तर, कञ्चनपुरको असैनामा आगजनी गरिएको टावर नजिकै एक पर्चा फेला परेको छ जसमा सरकारलाई कर नतिरेकाले ‘कारवाही’ गरेको व्यहोरा उल्लेख छ । प्रहरीले यसबारे अनुसन्धान जारी राखेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्