Logo

‘जनतालाई दिने सेवामा कन्जुस्याइँ नगरौँ’



अशोक घिमिरे : काठमाडौँ, ११ फागुन :

देशको आर्थिक मेरुदण्ड यातायात हो,
यातायातबिना अघि बढ्न सक्छ को ?
व्यापार, उद्योग धन्दा चल्छ यातायातले,
यसको संरक्षण गरौँ है हाम्रै हातले ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आज आयोजना गरेको प्रथम गोष्ठी तथा ‘सार्वजनिक यातायात क्षेत्रका विद्यमान समस्या र समाधान’ विषयको अन्तरक्रियामा जनकवि भोला बरालले समग्र यातायात क्षेत्रको महत्व र जिम्मेदारी दर्शाउने गीत प्रस्तुत गरिरहँदा सहभागी यातायात व्यवसायी निकै भावुक देखिन्थे ।

साँच्चै जनस्तरबाट ‘वाहीवाही’ पाउने गरी जनसमर्थन बटुल्न नसकेको नेपालको सार्वजनिक यातायात क्षेत्रले जनतालाई दिनुपर्ने सेवामा कुनै कञ्जुस्याइँ गर्न नहुने उहाँको गीतमा झल्कन्थ्यो ।

विकास, निर्माण गर्न यातायात चाहिन्छ,
अफ्ठयारा व्यवधानबाट मुक्ति पाइन्छ,
यातायातलाई सर्वसुलभ गर्नु पर्दछ,
पहिलो भ्रष्टाचार निमूल पार्नु पर्दछ ।

यातायातको विसङ्गति तोड्न बाँकी छ,
जनतासँग माया प्रेम जोड्न बाँकी छ ।
तराई, पहाड हिमाल जोड्ने यातायात हो,
यातायातलाई खाँचो छ है जनसाथको ।

जनकवि बरालका गीतले सार्वजनिक यातायातको क्षेत्रमा देखिएको बेथिती, विसङ्गतिलाई आफैँबाट अन्त्य गर्न र नयाँ नेपाल निर्माणमा सामूहिक भावना अभिप्रेरित गर्न व्यवसायीलाई उद्देलित गरेको थियो । यातायात क्षेत्र र जनता मिलेमात्र देश बन्ने र नेपाली धरतीले पनि यही कुरा माग गरिरहेको उहाँको भनाइ थियो ।

यातायात सञ्चालन गर्ने साथी भाइ,
चुस्त दुरुस्त पारौँ है नेपाल देशलाई,
यातायात र जनता मिले देश बन्दछ,
हाम्रो नेपाली धरतीले यही भन्दछ ।

यातायात चुस्त नभई सरकार चल्दैन,
नेता हुन् या जनताको चुल्हो बल्दैन ।
यातायात व्यवसायीलाई दिलमा राखेर,
अघि बढौँ प्रगतिको स्वाद चाखेर ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सार्वजनिक यातायातप्रति जनताको वर्तमान सोच परिवर्तन हुने गरी नवीनतम् प्रविधिको प्रयोग गर्दै सेवा प्रदान गर्न व्यवसायीले ढिलाई गर्न नहुने बताउनुभयो । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सरकारले स्पष्ट नीति ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

व्यवसायी एवं युनाइटेड भलाइ कोषका अध्यक्ष राजेन्द्र तिवारीले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सबैको सहकार्यको आवश्यकतामा जोड दिँदै सहकार्य र सहकारिताको भावनाबाट व्यवसायी अघि बढ्नुपर्ने बताउनुभयो ।

कानून व्यवसायी मनिषकुमार श्रेष्ठले यातायात समिति कम्पनी ऐनअन्तर्गत दर्ता भई यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण गरिनुपर्ने व्यवस्था भए पनि यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०७४ ले साना व्यवसायीको भावना समेट्न नसकेको बताउनुभयो ।

सार्वजनिक यातायात क्षेत्रमा देखा परेका चुनौतीको उचित समाधान र आवश्यक नीति निर्माणमा सरोकारवाला निकायलाई सहयोग एवं सहजता प्रदान गर्न स्थापना भएको सार्वजनिक यातायात केन्द्रीय महासङ्घ सार्वजनिक यातायात सेवाको संरक्षण, सम्बद्र्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा सुरक्षित, मर्यादित र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको महासङ्घका महासचिव गणेश उप्रेतीले जानकारी दिनुभयो ।

महासङ्घले अग्रगामी सोचका साथ नवीन प्रविधिको प्रयोग गर्दै सर्वसाधारणलाई सेवा प्रदान गर्ने उद्देश्य राखेको महासचिव उप्रेतीले बताउनुभयो । बदलिँदो परिस्थितिमा यात्रुको हित र सुविधालाई मध्यनजर गर्दैै नेपालभर सञ्चालनमा रहेका सार्वजनिक यातायातका सवारी साधानमा यात्रा गर्न ‘इ–टिकेट’ प्रणाली लागू गरी घरैबाट टिकेट लिने र भुक्तानी गर्ने व्यवस्थालाई अनिवार्य गर्ने तयारी भइरहेको बताउनुभयो ।

“महासङ्घले सबै किसिमका सवारी सधान चलाउने प्रशिक्षण कार्य सञ्चालन गर्नका लागि प्रशिक्षण केन्द्र स्थापना र सञ्चालन तथा सवारी सधानलाई आवश्यक पर्ने इन्धन बिक्रीका लागि डिपो खोली सञ्चालन गर्ने छ”–उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय मापदण्डको पेट्रोलियम र विद्युतीय सवारी सधान आयातलाई प्राथमिकता दिइएको महासचिव उप्रेतीले बताउनुभयो । यातयातका क्षेत्रमा भइरहेका एकताधिकार अन्त्य गर्र्दै प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्न इच्छुक व्यवसायीको पहलमा गत मङ्सिर २२ गते महासङ्घको स्थापना भएको थियो । महासङ्घमा १११ यातायात कम्पनी आबद्ध भएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्