फागुन १२, काठमाण्डौ । पछिल्लो समय विभिन्न मन्त्रालयका सचिवहरु मन्त्रीको निशानामा पर्न थालेका छन् । आफ्नो चाहनाहनुसार काम नगरेको भन्दै सचिवको सरुवा गरेर मन्त्रीहरूले रिस पोख्ने गरेका छन् । आशालाग्दा मानिएका मन्त्रीसमेत अरु काम छोडेर सचिव हटाउने खेलमा लागेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारकाका २५ मन्त्रीमध्ये निकै आशालाग्दो सूचीमा पर्छन् खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी ।
आमनागरिकले यी दुई मन्त्रीहरुले सम्हालेको मन्त्रालयबाट हुने काम कारवाहीमा उल्लेख्य सुधार हुने आशा गरेका थिए । तर पछिल्लो समय यी दुइमन्त्री नै विवादमा तानिएका छन् । कारण हो, आफू अनुकुल काम नगरेको भन्दै सचिवको सरुवा । वाइडबडी खरिद प्रकरणमा अर्बौँ रकम भ्रष्टाचार गरेको काण्डमा मुछिएको घटना सेलाउन नपाउदै मन्त्री अधिकारी अहिले सचिव सरुवा गरेर विवादित बनेका छन् ।
मन्त्री अधिकारीले भारतबाट ल्याइएका इलेक्ट्रिक बस चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा आफुलाई सरुवा गरेको अभिव्यक्ति सचिव कृष्णप्रसाद देवकोटाले सार्वजानिक रुपमै दिएका छन । गत वर्ष मात्रै मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ ।
मन्त्रालयमा बुधबार बिदाइ कार्यत्रममा देवकोटाले मन्त्री अधिकारीकै सामुन्ने यो आरोप लगाएका थिए । अधिकारीको मौनताले यो कुरा पुष्टि गर्छ । त्यस्तै खानेपानी मन्त्री विना मगरले अघिल्लो दशैभित्रै काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने दावी गरेकी थिइन् । बोलीअनुसार काम नभएपछि र ठेकेदार कम्पनी भागेपछि मन्त्री मगरपनि विवादमा तानिएकी थिइन् ।
अहिले उनै मन्त्री मगरले पनि आफ्नो अनुकल काम नगरेको भन्दै सचिव गजेन्द्र ठाकुरलाई सरुवा गरेकी छिन् । सचिव ठाकुरले भने मेलम्ची खानेपानी आयोजनाको ठेक्कामा मन्त्रीले कमिशन खान खोजेको त्याही अनुसार काम गर्न नमान्दा आफुलाई सरुवा गरेको आरोप लगाएका छन् । तर मन्त्री मगरले शुक्रबार संसदमा बैठकमा सचिवको आरोपको खण्डन गर्दै आफूले गलत नियतले काम नगरेको दावी गरिन् ।
यी त प्रतिनिधि घटना मात्र हुन्, मन्त्रीहरुले भनेको अनुसार काम नगरेको बहानामा यसअघि पनि धेरै सचिवहरु सरुवा भएका प्रशस्तै उदाहरण छन् । मन्त्रीहरूले सरुवा गर्नका लागि बहाना बनाएका मात्र हुन् वा उनीहरूले लगाएजस्तै सचिवहरू दोषी हुन् भन्ने छानबिन हुनुपर्दछ । यस्तै सचिवहरुले मन्त्रीहरूलाई लगाएको आरोप सांच्चै साँचो हो भने उनीहरूलाई अंकुश लगाउन जरुरी छ ।