काठमाडौं, १८ फागुन । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । कोषले आज (शनिबार) पशुपति परिसरमा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जानकारी गराएको हो । महाशिवरात्रि पर्वलाई व्यवस्थित गठित विभिन्न उपसमितिले आ-आफ्नो कार्यसम्पादन पुरा गरेको कोषले स्पष्ट पारेको छ ।
कोषले विभिन्न ३ स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरि लाइन व्यवस्थापन गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक/एक लाईन, जयवागेश्वरी इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट १ लाइन, बत्तिसपुलती, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान सुमार्गी भवन अगाडि चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक/एक लाइन गरि बाहिरी रुपमा तीन स्थानबाट दर्शनका लागि लाइनहरु राख्ने तयारी गरिएको छ ।
आवश्यक परेको अवस्थामा भक्तालुको उपस्थिति हेरेर तीलगंगा राममन्दिर तर्फबाट समेत एक लाइन राख्न सकिने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । शिवरात्रीका अवसरमा पशुपति आउने श्रद्धालु भक्तजनको सुरक्षा देखिएको सम्पूर्ण प्रबन्धका लागि नेपाल स्काउट समेतका गरि ५ हजार स्वंयसेवक परिचालन गरिने तथा डाक्टर, नर्स र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिने भएको छ ।
कोषले भक्तजनहरुको सुरक्षा र दर्शनलाई व्यवस्थित बनाउनुको साथै आवास, भोजन, लाइटिङ, स्वास्थ्य, वातावरण, सरसफाई, स्वयंसेवा परिचालन, साधुसन्तको सेवा तथा प्रचार प्रशारका लागि ८ वटा उपमिति गठन गरेको छ ।
दर्शनलाई सहज हुने गरि कैलाशमुनि, भुवनेश्वरी, बज्रघर, राममन्दिरलगायत ५ स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था मिलाईने भएको छ । सवारी पार्किङका लागि तीलगङ्गा, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त ट्राफिक प्रहरी प्रभाव, गौशाला, सिफल, गुहेश्वरी पारी गरि ५ स्थान तोकिएको छ ।
तस्विर : मुकुन्द कालिकोटे