Logo

विप्लवमाथि किन खनिए प्रचण्ड ? यस्तो छ भित्रि रहस्य



फागुन २०, काठमाण्डौ । कुनैबेला एकसाथ युद्ध मोर्चामा होमिएका पुष्पकमल दाहाल र नेत्रविक्रम चन्द अहिले दुई कित्तामा छन् ।

प्रचण्डले सेफ ल्याण्डिङको बाटो रोजेर राजनीति गरिरहेका छन् । चन्दले भने अझै क्रान्ति गर्ने भन्दै हिँडेका छन् ।

प्रचण्ड र विप्लवबीच १० वर्षे जनयुद्धका बेला राम्रै सम्बन्ध थियो । शान्ति प्रक्रियापछिका विभिन्न राजनीतिक परिवर्तनप्रति विप्लव सहमत भएनन् । प्रचण्डको बलमा संविधानसभाबाट बनेको नयाँ संविधान विप्लवले मानेनन् ।

प्रचण्डबाट मोहन वैद्य अलग्गिदाका मुख्य पात्र विप्लव नै थिए । पछि वैद्यसँग पनि उनी टिक्न सकेनन् ।

विगत लामोसमयदेखि अर्धभूमिगत रहेका विप्लव पछिल्लो समय त पुरै भूमिगत छन् । एनसेल कार्यालयमा मानवीय क्षति हुने गरी भएको बम विष्फोटले अब विप्लव नेतृत्वको माओवादी कता जान्छ भन्ने चिन्ता धेरैमा छ ।

न बल प्रयोग गरेर समस्या समाधान हुन्छ न शान्तिपूर्ण वार्ताले । यस्तो अवस्थामा सरकारको नेतृत्व गरिरहेका केपी ओली र सत्तारुढ दलका अध्यक्ष प्रचण्डको टाउको दुखाइको विषय बनेको छ ।

यसैबीच आज प्रचण्डले विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्ने चेतावनी दिएका छन् । विप्लव समूहको पछिल्लो गतिविधिलाई सरकारले गम्भिर रुपमा लिएको भन्दै उनले छिट्टै समाधान निस्कने दाबी गरे ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संविधान र वामपन्थी सरकारलाई अस्थिर बनाउन खोज्नु अतिवाद भएको बताए ।

उनले भने, अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रुपमा सोच्नुपर्छ, सोच्छ, सोचेको छ ।’

सरकारले राजनीतिक रुपले सहमतिमा आउने हदसम्म सहमतिको प्रयास गरेको र भविश्यमा पनि गर्ने उनले बताए । नभएसरकारले प्रशासनिक रुपमा समाधान खोज्ने भन्दै उनले भने, ‘तपाईहरु हेर्दै जानुहोला, यो समस्यालाई राजनीतिक र सरकारको प्रशासनिक दुबैतिरबाट समाधान गरिन्छ ।’

तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएपछि क्यान्टोनमेन्टमा राखेको केही हतियार चोरी भएको पनि खुलासा गरे । उक्त हतियार विप्लव समुहले नै लुकाएको प्रचण्डको आशंका छ ।



प्रतिक्रिया दिनुहोस्