Logo

राष्ट्रिय विद्रोह सुरू गर्ने महतोको घोषणा



काठमाडौं, २२ फागुन । राजपा नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका छन् ।

बुधबार साँझ संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै महतोले यस्तो चेतावनी दिएका हुन । उनले आन्दोलनकारी चौधरीलाई जन्मकैदको सजाय दिने प्रवृतिविरूद्ध आन्दोलन गर्ने चेतावनी दिए।

पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उनले त्यसविरूद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरू गर्ने घोषणा गरे।

उनले प्रश्न गरे,‘जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गर्न मिल्छ ? यो सरासर अन्याय, अत्याचार र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय विद्रोह सुरू हुन्छ।

यी हुन सरकारमाथि राजपाले लगाएका आरोपः

१) दुई तिहाई बहुमत हुँदाहुँदै पनि संविधान सशोधन नगरेको, २) मधेस र थरुहट आन्दोलनका बन्दीहरूलाई रिहा नगरेको, उनीहरूमाथि लगाइएका झूट्टा मुद्दा फिर्ता नलिएको, ३) आन्दोलनका घाइतेहरूको उपचार नगराएको, ४) बेरोजगारी समस्याको समाधान नगरेको, ५) महँगी र भ्रष्टाचार नियन्त्रण नगरेको, ६) असीना एवं बाढीपीडितलाई राहत नदिएको, ७) निर्मला पन्त लगायतको बलात्कारी र हत्यारालाई कारबाही नगरेको, ८) शान्तिसुरक्षा कायम गर्न नसकेको, ९) सन्तुलित परराष्ट्र नीति अबलम्बन नगरेको, १०) राज्यको हरेक अंगमा दलीय हीतको पक्षपोषणमात्र गरेको, ११) संघीयतालाई कमजोर गरेको, प्रदेशलाई अधिकार नदिएको र १२) प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाएको।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्