Logo

सरकार–सिके राउत सहमति जनताको आँखामा छारो : राजपा



सरकार र सिके राउतबीच सहमति भएको विषयलाई विभिन्न कोणबाट व्याख्या गर्न थालेका छन् । कतिपयले सिके राउतकै लागि सरकार जनमत संग्रह गर्न तयार भएको भन्दै आपत्ती जनाएका छन् भने कतिपयले राउतलाई मुलधारको राजनीतिमा ल्याउन सफल भएको भन्दै प्रशंसा गरेका छन् । यसै विषयमा ऋषि धमलाले राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सरकार र सिके राउतबीचको सहमतिलाई कसरी बुझ्नुभएको छ ? सेफ ल्याण्डिङ हो ?
सेफ ल्याण्डिङ होइन, यो सब जनताको आँखामा छारो हालिएको हो । सिके राउतको असरी चरित्र उदाङ्गिएको छ । कहाँबाट परिचालित थियो, मुल धारमा फर्किएको छ । सिके राउतको चालढाल नै राम्रो थिएन । अहिले आत्मसमर्पण गर्यो ।

विगतमा सिके राउतले गरेका गतिविधीलाई कसरी लिनुभएको थियो ?
उसले जहिले पनि संघीयतालाई बदनाम गर्न खोजेको देखिन्छ । जनतालाई उत्तेजित पार्नका लागि ठूला ठूला कुरा गर्थे । हामीले गरिरहेको मुल धारको राजनीतिमा बदनाम हुने क्रियाकलाप गरिरहेको थियो । कुरा एउटा गर्ने काम अर्कै भइरहेको थियो । संघीयतालाई कमजोर बनाउन एकातिर तर्साउने अर्कोतिर सरकारसँग सहमति गरेर सेफ ल्याण्डिङ खोजेजस्तो देखिन्छ ।

११ बुँदे सहमतिलाई कसरी लिनुभएको छ । जनमत संग्रहको कुरा पनि छ ।
यो सबै नाटक मञ्चन गरिएको हो । मुख्य कुरा के हो भने धेरै काम कारबाहीमा शंका गर्ने ठाउँ छ । रातारात भएको सहमतिमा विदेशी शक्तिहरुको हात रहेको छ । यसअघि भएको शंका झन बढि गहिरिएर गएको छ । जनमत स्वीकारेको कुरा जनतालाई भ्रम छरेको हो । आत्मसमर्पण गरेको छैन भनेर सिके राउतले भ्रम छर्न खोजेको हो ।

राष्ट्र विखण्डनको कुरा गर्ने पक्षसँग भएको सहमतिले अब समाधान हुन्छ होला नि ?
संघीयतावादी आन्दोलन गर्नेहरुसँग सरकारले जे व्यवहार गरिरहेको छ, त्यो सबैले देखेको छ । उता विखण्डनकारीसँग सम्झौता गरिएको हो । यसले सरकारको नियतमाथि पनि शंका उठेको छ ।

राजकिशोर यादव, नेता, राजपा

प्रधानमन्त्री केपी ओलीले त तपाईहरुप्रति संकेत गर्दै अब स्वार्थका रोटीहरु सेक्नेहरुको दिन गए भन्नुभयो नि ?
कसैले भन्दैमा दिन जाने र दिन आउने हुँदैन । प्रधानमन्त्री जहिले पनि टुक्का र कथा भन्नुहुन्छ । कसैले कराउँदैमा काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेजस्तै हो । राजपा भनेको जनताको अभिमत प्राप्त शक्ति हो । आज पनि राजपा जनताको मस्तिष्कमा छ । चिन्ता लिनुपर्ने विषय नै होइन ।

विखण्डनकारीको एजेण्डा छोडेर मूल धारको राजनीतिमा आउन खोज्दा किन आपत्ती ?
हामीलाई केही आपत्ती छैन । कुरा के हो भने अध्याँरोमा राखेर झुटा कुरा गरिएको छ । हिजोसम्म संघीयता काम छैन भन्ने शक्ति आज मूलधारमा आउने नाममा आत्मसमर्पण गरिएको छ । अर्कोतिर सरकारले देश र जनतालाई अध्याँरोमा राखेर गरिएको सहमितप्रति आशंका उत्पन्न भएको छ । अब त न्यायालयमाथि नै शंका उत्पन्न भएको छ । थुनामुक्त भएकै रात सहमति हुनुलाई स्वभाविक रुपमा लिन सकिदैन । त्यसैले यो घटना क्रमको पछाडि कुन शक्तिको चलखेल भएको छ भनेर खोज्नुपर्छ ।

अब मधेशमा सिके राउत अर्को शक्ति जो तपाइहरुको प्रतिस्पर्धी बन्न सक्छ कि सक्दैन ?
काठमाण्डौमा बसेर कराउँदैमा शक्ति हुन्छ र ? जनताको मन जितेर आउन सक्नुपर्यो नि । कसैको आशिर्वाद प्राप्त गरेर मात्रै हुँदैन नि ।

सिके राउताले राजपासँगै मिल्न चाहे भने के हुन्छ ?
सिके राउत जस्ता हजाराँै कार्यकता र नेताहरु छन् नि । सिके राउत कुनै शक्ति त हैन नि । तर उसले सँगै काम गर्छु भन्यो भने राजपालाई कुनै आपत्ती हुँदैन ।



प्रतिक्रिया दिनुहोस्