म्याग्दी, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव पनि दिएका छन् ।
नेपाली काङ्ग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको बीपी स्मृति कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै देउवाले यस्तो चेतावनी दिएका हुन् । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गरेको र सुशासन तथा सुरक्षा कायम गर्न सरकार असफल बन्दै गएको उनको आरोप थियो । “राणा, पञ्चायत र राजा फाल्न जस्तै कम्युनिष्टका विरुद्ध पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो”, सभापति देउवाले भने । दुई तिहाई बहुमत भए पनि सरकारले खासै काम गर्न नसकेको टिप्पणी गरे ।
बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा स्नान गरेपछि सभापति देउवाले सडक सुविधा र व्यवस्थापनमा ध्यान दिन सकेमा तातोपानी कुण्डको स्वास्थ्य उपचार केन्द्रका रुपमा विकास हुने बताए ।