Logo

जहाजको विग्रेको इन्जिनमा पनि घोटाला, यसरी खान खोजियो अरबौँ रकम



फागुन २८, काठमाण्डौ । नेपाल वायु सेवा निगमको विग्रेको जाहाज मर्मत गर्ने नाममा पनि अनियमितता भएको पाइएको छ । विमानको इञ्जिन मर्मतका लागि निगमले गरेको टेण्डर प्रक्रिया नै ऐन विपरित भएको खुलासा भएको हो । निगमले अरबौं घोटाला हुने गरी इन्जिन मर्मतका लागि नयाँ टेण्डर प्रक्रिया सुरु गरेको पाइएको छ ।

संघीय संसदको सार्वजनिक लेखा समितिले घोटाला हुन लागेको संकेत पाएपछि एयरबस–३२० विमानको इन्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले ठेक्का प्रक्रिया रद्द गरी रिटेन्डरको तयारी गर्नु सार्वजनिक खरिद ऐन विपरित हुने निष्कर्ष निकाल्दै निगमलाई पूरानै ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

मूल्यका हिसावले समेत पूरानै ठेक्का प्रक्रिया अघि बढाउन उपयुक्त हुने देखिएकाले सोही अनुसारको निर्देशन निगमलाई दिइएको हो । समितिको यस अघि नै टेन्डर प्रक्रियामा घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान मर्मत तथा इन्जिन भाँडामा लिने सम्बन्धि ठेक्का प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो ।

बैठकमा समितिका सदस्यहरुले निगमले अरबौंको घाटा मुलुकलाई हुने गरी सो विमानको इन्जिन ममर्तसम्बन्धि ठेक्का प्रक्रिया रद्द गरेको भन्दै आपत्ति जनाएका थिए । समितिका सदस्य डा. मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमलाई डुबाएको र इन्जिन मर्मत सम्बन्धि सो टेन्डर प्रक्रिया पनि रद्द गराउने काम उनकै निर्देशनमा भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

समितिका अर्का सदस्य प्रेम आलेले निगमले अरबौं घोटाला हुने गरी इन्जिन मर्मतका लागि नयाँ टेण्डर प्रक्रिया सुरु गर्न लागेको भन्दै आपत्ति जनाए । उनले नेपाल वायु सेवा निगमका कामकार्वाही राष्ट्रिय लज्जाको विषय भएको उल्लेख गर्दैै त्यसमाथि समितिले कडा निगरानी राख्ने चेतावनी पनि दिए ।
समितिका सदस्य आलेले नेपाल वायु सेवा निगमले किन सस्तोमा काम गर्ने कम्पनीलाई टेन्डर प्रक्रियाबाट हटाएको भनि आक्रोश पनि व्यक्त गरेका थिए ।

वाइडबडी विमान खरिदमा ६ अर्व भ्रष्टाचार भएको विषय टुङ्गोमा नपुग्दै इन्जिन मर्मतका नाममासमेत घोटाला हुने गरेको आशंकाले निगममाथि नै गम्भीर प्रश्न उब्जिएको छ ।



प्रतिक्रिया दिनुहोस्