Logo

विप्लवको बन्दले आंशिक प्रभाव, मकवानपुरमा ट्रक जलाइयो



फागुन ३०, काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको असर देशैभरी देखिएको छ । आजका लागि गरिएको नेपाल बन्दले राजधानी काठमाण्डौमा पनि आंशिक प्रभाव परेको छ ।

काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् । अधिकांश शिक्षण संस्थाहरु पनि बन्द भएका छन् ।

आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले आजका लागि नेपाल बन्दको घोषणा गरेको थियो ।

मकवानपुरमा ट्रक जलाइयो

मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ ।

अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको हो ।

मास्क लगाएको एक समूहले गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको ट्रकका चालकले बताएका छन् ।

घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने अनुमान गरिएको छ । तर अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छ ।

यसैबीच, हेटौंडाको औद्योगिक क्षेत्रनजिक भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।

बन्दका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा सार्वजनिक सवारी चलेका छैनन् । शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा पनि असर परेको छ ।



प्रतिक्रिया दिनुहोस्