चैत ११, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले महासमिति बैठकको एजेण्डा ओझेलमा पारिएपछि पार्टीभित्र विवाद बढेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सदस्यहरुलाई आश्वासन दिए पनि केन्द्रिय समितिमा उल्टो गरिएकोले समस्या सृजना भएको बताए ।
महासमिति बैठकको एजेण्डाविपरित शीर्ष नेताहरु गएपछि जिल्ला सभापतिहरुले भेला गर्न लागेको पनि उनले स्पष्ट पारे । आगामी महाधिवेशन निर्धारित समयमै हुने नेता पौडेलको विश्वास छ । महाधिवेशन कुनै पनि बहानामा पर सार्ने काम नेतृत्वले नगर्ने पौडेलले बताए ।
“कांग्रेसको महाधिवेशन समयमै सम्पन्न गर्नका लागि कुनै पनि समस्या छैन ।”-पौडेलले भने । संघीय संरचनाअनुसारको कांग्रेसको संगठन नभएकाले अहिलेदेखि नै तल्लो तहको अधिवेशन सुरु गर्नुपर्ने पौडेलले बताए ।
नेपालको संविधानले शसस्त्र विद्रोहलाई गैर कानुनी भनेकाले विप्लप समुहले हतियार त्यागेर वार्तामा आउनुपर्ने पौडेलले बताए । सरकारले पनि दमन गर्नुभन्दा पहिला वार्ता र संवादको प्रयास गर्नुपर्नेमा उनले जोड दिए ।