चैत १८, काठमाण्डौ । आइतबार साँझ चलेको हावाहुरीले वारा र पर्सा जिल्लामा ठूलो जनधनको क्षति भयो । नेपालमो इतिहासमा हावाहुरीले पुर्याएको सबैभन्दा ठूला क्षति बनेको छ आइतबारको घटना ।
तर मानवीय क्षतिका हिसाबले भने ३१ वर्षअघिको घटना सम्झनुपर्ने हुन्छ । त्यसबेला काठमाण्डौको दशरथ रंगशालामा फुटबल खेल भइरहेकाबेला आएको हावाहुरीले ७३ जनाको ज्यान लिएको थियो ।
२०४४ सालको फागुन २९ गते यस्तै हावा चल्दा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रिभुवन च्यालेन्ज शिल्डको फाइनल खेल भइरहेका बेला दर्शकले खचाखच रंगशालामा एकाएक भागदौड मच्चियो ।
त्यसबेला ७३ जनाको ज्यान गएको थियो भने २ सय घाइते भएका थिए । नेपालको जनकपुर चुरोट कारखाना क्लब र बंगलादेशको मुक्ति योद्धा क्लब बीच खेल चलिरहँदा खेलको १९ सौं मिनेटमा आएको हावाहुरीका कारण दर्शकहरु डराएर मच्चिएको भागदौडमा ठूलो मानवीय क्षति भएको हो ।
नेपालमा हरेक वर्ष हावाहूरी आउने गर्दछ । तर मानवीय क्षतिका हिसाबले उक्त घटना नचाहेर पनि सधैँभरी सम्झिरहनुपर्ने घटनाको रुपमा रहेको छ । ४४ सालको हावाहूरी सम्झाउने गरी आइतबार बारा र पर्सा जिल्लामा हावाहुरी आयो ।
यो घटनाले पुनः एकपटक हावाहुरीले पनि ठूलो जनधनको क्षति पुर्याउँछ भन्ने पुष्टी गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिन (७२ घण्टा)को मौसमी अवस्था पूर्वानुमान गर्ने गरे पनि आइतबारको जस्तो हावाहुरीको पूर्वानुमान गर्न नसक्ने पुष्टी भएको छ ।
महाशाखाले त्यसैको पूर्वानुमान गर्न नसक्दा आइतबार राति बारा, पर्सासहितका जिल्लामा एक्कासी आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ । मेघ गर्जन र चट्याङको सम्भावनाबारे पूर्वानुमान गरिए पनि हावाहुरीको छुट्टै पूर्वानुमान नहुँदा जहिल्यै क्षती व्यहोर्नुपरेको हो ।
विगतमा हावाहुरीकै कारण रुख ढल्दा काठमाडौंमा मानवीय र भौतिक क्षतिसमेत भएका कयौं उदाहरण छन् । मौसमी प्रणालीलाई वैज्ञानिक र विश्वसनिय बनाउन राज्यले प्रविधिमा लगानी गर्नुपर्ने विशेषज्ञहरुले सुझाब दिएका छन् ।