Logo

मन्त्रिपरिषद बैठक सम्पन्न : हावाहुरी पीडितका बारेमा गर्यो यस्तो निर्णय



चैत १८, काठमाण्डौ । मन्त्रीपरिषद बैठक भर्खरै सम्पन्न भएको छ । पर्सा र बारामा हिजाको हावाहुरीले पुर्याएको प्रभावबारे छलफल गर्न बसेको बैठकले सबै घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन तत्काल आवश्यक तयारी सुरु गरिने नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

त्यसैगरी उद्धार र राहतमा सबै संयन्त्र परिचालन गरिने पनि निर्णय भएको छ । बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई यथोचित बासस्थानको व्यवस्था मिलाउन संघीय सरकारले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकपछि संचारकर्मीलाई जानकारी दिँदै सुचना, संचार तथा प्रविधिमन्त्रीसमेत रहेका बास्कोटाले पुनः स्थापना र पुनः निर्माणका विषयका थप निर्णय पनि गरिने बताए ।

आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्मको विनाशकारी हावाहुरीमा परी ज्यान गुमाउने सबै जनाको सनाखत भएको छ ।

सो घटनामा परी बारा जिल्लाका २६ जना र पर्सा जिल्लाका १ जना गरी २७ जनाको निधन भएको छ । ती मध्ये पुरुष १० जना, महिला ११ र ६ जना बालबालिका रहेको र सबैको सनाखत भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

घटनामा ६६८ जना घाइते भएकोमा २८४ जना प्रारम्भिक उपचार पश्चात घर फर्केका छन् भने ३७५ जनाको पर्सा र बारा जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

गम्भीर घाइते ९ जनालाई थप उपचारका लागि नेपाली सेनाको स्काइ ट्रक तथा हेलिकप्टरबाट उद्दार गरी काठमाण्डौ त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा उपचार भइरहेको छ ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्