Logo

स्वास्थ्य चौकीमा ‘फिजियोथेरापी’ सेवा



रामबहादुर थापा- बागलुङ, २३ चैत । काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्य चौकीमा फिजियोथेरापी सेवा शुरु भएको छ । सो सेवाको शुक्रबार गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले शुभारम्भ गर्नुभयो ।

स्थानीय ७३ वर्षीय लिलबहादुर कुँवरलाई फिजियोथेरापिष्ट सुजन कार्कीले पहिलो सेवा प्रदान गर्नुभएको थियो । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र हाडजोर्नी तथा नशाका बिरामीलाई लक्षित गरी सेवा शुरु गरिएको हो । सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय नेपाल फेलोशिप ९आइएनएफ० को समुदायमा आधारित पुनःस्थापना कार्यक्रम ९सिबिआर० ले उपकरण उपलब्ध गराएको हो । फिजियोथेरापीमा प्रयोग हुने अल्ट्रासाउण्ड, टेन्स, हिटिङ प्याड, सोल्जर ह्विललगायत गरी १२ प्रकारका उपकरण पनि शुक्रबारनै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो ।

सर्वसाधारणलाई गाउँमै फिजियोथेरापी सेवा मिलोस् भन्ने उद्देश्यले निःशुल्क रुपमा सामग्री प्रदान गरिएको सिबिआरका अधिकृत सूर्यबहादुर कुँवरले बताउनुभयो । “अपाङ्गता भएकासँगै अन्य बिरामीले पनि यसबाट सेवा लिन सक्नहुनेछ”, उहाँले भन्नुभयो ।

कूल रु ५९ हजार ४०० मूल्य बराबरका उपकरण स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको हो । फिजियोथेरापी सेवा सञ्चालनका लागि ९सिबिआर० का फिजियोथेरापिष्ट कार्कीले स्वास्थ्य चौकीका स्वास्थ्य सहायक ललिता घिसिङलाई एक महीने तालीम प्रदान गर्नुभएको थियो ।

मांसपेशी, हाडजोर्नी, नशा र स्नायुसम्बन्धी बिरामीलाई सेवा उपयोगी हुने फिजियोथेरापिष्ट कार्कीले बताउनुभयो । “अपाङ्गतका कारण अशक्त हुनुभएका व्यक्तिलाई पनि यो प्रभावकारी उपचार विधि हो”, उहाँले भन्नुभयो । शरीरको दुखाइ कम गर्न, जोर्नीको चाल बढाउन र मांसपेशीलाई आराम दिलाउन फिजियोथेरापी गर्ने गरिन्छ । ज्येष्ठ नागरिक, अशक्त र बिरामीका लागि चाहिने व्यायामका रुपमा समेत फिजियोथेरापीलाई लिइन्छ ।

सेवाको निरन्तरताका लागि जनशक्ति व्यवस्थापनको खाँचो रहेको स्वास्थ्य चौकी इञ्चार्ज रामचन्द्र लामाले बताउनुभयो । “फिजियोथेरापी गर्न महँगो खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो, “सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न थप जनशक्ति आवश्यक छ ।”

गाउँपालिकाका अध्यक्ष थापाले ग्रामीण भेगको स्वास्थ्य सेवामा फिजियोथेरापीको सुविधाले नयाँ आयाम थपेको उल्लेख गर्नुभयो । “गाउँपालिकाका अन्य स्वास्थ्य चौकीमा पनि यो सेवा शुरु गर्न प्रयास गर्छौ”, उहाँले भन्नुभयो, “गुणस्तरीय स्वास्थ्य सेवाका लागि लगानी बढाउन गाउँपालिका पनि तयार छ ।”

वडाध्यक्ष तथा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रेम लामिछानेले पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापनमा मुख्य जोड दिइने बताउनुभयो । “सेवा शुरु भएसँगै यसको दिगोपना र प्रभावकारिताको चुनौती हाम्रा सामु छ”, उहाँले भन्नुभयो, “नागरिकस्तरीय स्वास्थ्य सेवा दिन हामी प्रतिबद्ध छौँ ।” उहाँले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्