Logo

प्राणघातक रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालन गर्न जरुरी



काठमाडौं, २३ चैत । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्यान्सरजस्ता प्राणघातक रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालन गर्न जरुरी रहेको बताएका छन्।

उपप्रधानमन्त्री यादवले विषादी खाद्य बस्तुको सेवन र प्रदुषणका कारण नेपालमा बढ्दो रोगहरुको नियन्त्रणका लागि पनि जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन्।

शनिबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ठूलो धनराशी खर्च गरेर पनि निको नहुने क्यान्सरजस्ता प्राणघातक रोगबाट बच्न खानपान र शारिरीक व्यायामका कामहरुमा ध्यान दिन पनि सर्वसाधारणलाई अपिल गरे।

उपप्रधानमन्त्री यादवले रासायनिक मल हालेको खाद्यन्नबाट विभिन्न रोगहरु लाग्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडा कानुन ल्याउने प्रयास गरिरहेको पनि बताए।

उपप्रधानमन्त्री यादवले रोगहरुबाट बच्न बेलाबेलामा स्वास्थ्य जाँच गराउन पनि सबैलाई आग्रह गरे। रोग लाग्नै नदिन तथा लागे उपचार गर्न ढिलाई गर्न नहुने उपप्रधानमन्त्री यादवको भनाई छ।



प्रतिक्रिया दिनुहोस्