Logo

तारागाउँ काण्डको पर्दाफास : १५० रोपनी जग्गा हडप्ने प्रयास रोकिएला ?



चैत २४, काठमाण्डौ । संसदीय उपसमितिले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरिदिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरिदिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले उपसमितिको प्रतिवेदन परिमार्जन सहित पारित गर्दे तारा गाउँ विकास समितिको नाममा रहेको जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको हो ।

यसका लागी सरकारले आवश्यक कदम चाल्नुपर्ने समितिको निष्कर्ष छ । त्यस्तै बैठकले तारागाउँ बिकास समितिको स्वामित्वमा रहेको नगरकोट पोखरा र ककनीमा सञ्चालिल होटलको सञ्चालन अवस्था नाजुक देखिएको भन्दै यसको प्रभावकारी सञ्चालनका लागी पर्यटनमन्त्रालयको धारणा माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै जग्गा लिज सम्झौतामा होटल र तारा गाउँ विकास समिति पदाधिकारीले अख्तियारको दुरुपयोग गरेको देखिएको भन्दै यस विषयमा छानबिन गर्न पनि निर्देशन दिएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभएको हो ।

त्यसअघि बैठकमा तारागाउँ समितिको जग्गा विवादका बारेमा अध्ययन गर्न गठित उपसमितिका संयोजक अग्नि सापकोटाले प्रतिवेदन बुझाएका थिए ।
उपसमितिले मालपोत ऐन २०३४ विपरीत हायात होटललाई उपलब्ध गराएको १ सय ५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउनुपर्ने अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले निष्कर्ष निकालेको छ ।

उपसमितिले तयार पारेको प्रतिवेदनमा सरकारलाई १४ वटा निर्देशन तथा सुझाव दिनुपर्ने उल्लेख गरेको सापकोटाले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले तारागाउँ विकास समितिको जग्गा दुरुपयोग गर्ने जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए । सांसद भीम रावलले राष्ट्रिय सम्पतीको दुरुपयोग हुदा पनि सरकार मौन रहेको आरोप लगाए ।

यसअघि, संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिले तारागाउँ विकास समितिको १५० रोपनी जग्गा होटलको नाममा रजिस्ट्रेसन पास गरिदिएको लगायतका विषयमा छानबिन गर्न उपसमिति गठन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्