काँस्की, २८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीको आर्थिक गतिविधि पारदर्शी बनाउन आग्रह गरेका छन्। नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षको तेस्रो राष्ट्रिय भेलामा सहभागी हुन पोखरा आएका नेता सिंहले जनमानसमा समेत सकारात्मक प्रभाव पार्ने पार्टीका आर्थिक गतिविधि पारदर्शी बनाउन आग्रह गरेका हुन्। उनले प्रभावकारी काम गर्न सके पार्टी झनै प्रभावकारी हुने जिकिर गरे।
पार्टीको आन्तरिक जीवन पुर्नताजगी बनाएर निर्णय प्रक्रियालाई विधि र प्रक्रियासम्म बनाउँदै लैजान सके वर्तमान चुनौतीको सामना गर्न सकिने उनको भनाइ थियो। कांग्रेसले इतिहासको कुरा मात्र नभइ आम नागरिकमा कांग्रेसमा आबद्ध हुँदा भविष्य राम्रो छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए। जनताले आसा भरोसा गरेको पार्टीप्रति को आकर्षण किन कम हुँदै गएको छ भन्ने विषय कांग्रेसकालागि गम्भीर विषय भएको उनले बताए।
नेता सिंहले वर्तमान सरकार यतिबेला जनवादी केन्द्रीयता लागू गर्न उद्दत रहेको आरोप लगाउँदै नेता सिंहले सरकारका जनविरोधी गतिविधि बिरुद्ध चनाखो भएर लाग्नु पर्ने बताए। सरकारका हरेक गतिविधि मुलुकको हित बिपरित हुँदै गएको र सरकार भ्रस्टाचारमा लिप्त रहेको भन्दै सशक्त प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिए।
सरकारका हरेक निर्णय संविधानको मर्म र भावना विपरित हुँदै गएको आरोप लगाए। विधि प्रक्रियालाई लत्याएर सरकार अगाडि बढिरहे त्यसलाई कांग्रेसले टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिए। सरकारका गतिबिधिले दलहरुबीचको विश्वासको वातावरण बिग्रिँदै गएको र दुई तिहाईको दम्भमा मनोमानी किसिमले चलिरहेको उनको भनाइ थियो।