Logo

सरकारको कदमले सरकारी चिकित्सकहरुको मनोबल गिरेको छ : अध्यक्ष डा. श्रेष्ठ



काठमाडौं, २९ चैत ।  नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकको सेवा/सुविधाका बारेका सरकारले प्रतिवद्धता जनाए आन्दोलन फिर्ता हुने विश्वास दिलाए । उनले चिकित्सकको मागका बारेमा सरकार गम्भीर नभएको आरोप लगाए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. श्रेष्ठले सरकारले चिकित्सा क्षेत्रको मर्म र भावना नबुझी हचुवाको भरमा समायोजन ऐन ल्याएको पनि गुनासो पोखे । उनले भने,‘यसले भोलि नेपालको स्वास्थ्य क्षेत्रमा दिर्घकालिन असर पर्छ । अहिलेको समायोजनले एउटा तहबाट अर्को तहमा जानै नमिल्ने बाध्यतात्मक अवस्था सिर्जना गरेको छ । हामीलाई संघीयतासँग सरोकार छैन् ।’

उनले केही मन्त्रीहरुको बोली अभद्र रहेको पनि टिप्पणी गरे । उनले भने,‘गार्जियनजस्तो व्यक्तिले अभद्र बोली बोल्ने गर्नुभएको छ । चिकित्सक भनेका साधन हुन् । सही तरिकाले प्रयोग गर्नुपर्छ ।’ सरकारले समायोजनमा नजाने चिकित्सकलाई कारबाही गर्छु भनेर धम्की दिएको सुनाउँदै उनले भने,‘चिकित्सकहरुले त राजीनामा नै दिन्छु भन्नुभएको छ । योभन्दा ठूलो कारबाही के हुन्छ ?’

विज्ञहरुसँग सल्लाह नगरी समायोजन गर्ने काम भएको बताउँदै उनले सरकारको यो कदमले चिकित्सकहरुको मनोबल गिरेको गुनासो पोखे । उनले भने,‘सरकारी चिकित्सकहरुलाई समायोजनमा जान कुनै आपत्ति छैन् । तर, त्यहाँ गएपछि निस्किने वातावरण छैन् । हो, निस्किने वातावरण बनाउनुपर्छ भनेर हामीले भनेका छौं ।’

सरकारी चिकित्सकहरुको आन्दोलनमा नेपाल चिकित्सक संघले एक्येबद्धता जनाएको उल्लेख गर्दै उनले सरकारले कुनैपनि हालतमा नजरअन्दाज गर्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्